+
+

बाढी–पहिरो पीडितलाई राष्ट्र संघको साढे ४५ करोड बराबर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १८:४८
फाइल तस्वीर

१ कात्तिक, काठमाडौं । गत असोज दोस्रो साता आएको बाढी–पहिरोबाट पीडितलाई संयुक्त राष्ट्र संघले ३४ लाख अमेरिकी डलर (४५ करोड ५६ लाख रुपैयाँ) बराबर सहायता दिने भएको छ ।

राष्ट्र संघको सेन्ट्रल इमर्जेन्सी रेस्पोन्स फन्डमार्फत उक्त सहायता दिन लागिएको हो । कोसी र मधेश प्रदेशका सुनसरी र सप्तरी जिल्लाका कोसी नदी पीडितलाई ‘एन्टिसिपेटरी एक्सन फ्रेमवर्क’ अनुसार राष्ट्र संघले सहायता गर्न लागेको हो ।

उक्त सहायता अन्तर्गत राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले त्यहाँका किसानलाई बीउबीजन सुक्खा राख्न हमेर्टिक झोला उपलब्ध गराउने छ भने संयुक्त राष्ट्र संघ जनसंख्या कोषले लैंगिक हिंसा सम्बोधन गर्न, मातृ मृत्युदर घटाउन तथा महिला एवं बालबालिकाको शारीरिक स्वच्छतामा काम गर्दै आएको छ ।

त्यसैगरी युनिसेफले डिजिटल नगदका साथै खानेपानी र सरसफाइ सामग्री उपलब्ध गराइरहेको छ । विश्व खाद्य कार्यक्रमले आवश्यक सामग्री खरिद गर्न डिजिटल नगद उपलब्ध गराइरहेको छ ।

बाढी–पहिरोबाट २ सय ४९ को मृत्यु, १ सय ७८ घाइते र १८ जना बेपत्ता छन् ।

‘जोखिममा रहेको समुदायलाई आवश्यक सेवामा पहुँच बढाउन र आम्दानी गुम्न नदिन यो सहायताबाट सहयोग पुग्ने विश्वास छ,’ राष्ट्र संघको नेपालस्थित आवासीय संयोजक हना सिंगर–ह्याम्डीले भनिन्, ‘राष्ट्र संघ, नेपाल सरकार र हाम्रा मानवीय सहायता साझेदारहरूको सहकार्यबाट यस्तो सहयोग सम्भव हुँदै आएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?