+
+

डा.केसीसँग स्वास्थ्यमन्त्रीले भने : स्वास्थ्य क्षेत्र सुधार प्रक्रिया अघि बढाएका छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते १४:००

२ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका मुद्दालाई मन्त्रालयले कार्यान्वयनमा लाने गरी काम गरेको बताएका छन् ।

सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी शुक्रबार मन्त्रालय पुगेका थिए। मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको बताएका थिए ।

मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरु अघि बढेको पौडेलले केसीलाई जानकारी गराएका थिए। मन्त्री पौडेलले भने,‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन्,’ ‘त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन् ।’

विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढेको जानकारी मन्त्री पौडेलले गराएका थिए । साथै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत एमबीबीएस चिकित्सक अध्ययन थाल्ने गरी निर्णय कार्यान्वयनमा गएको उनले जानकारी गराएका थिए।

उपत्यकाबाहिर दक्ष चिकित्सा जनशक्ति तथा स्तरीय अस्पतालका विषयमा चिकित्सक केसीले उठाएकै मागसँग मिल्ने गरी हालै आफ्नै अध्यक्षताको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थप पोस्ट ग्रयाजुएट चिकित्सक उत्पादन गर्न मिल्ने गरी चिकित्सक दरबन्दी स्वीकृत गरेको पौडेलले केसीलाई जानकारी दिए ।

तत्काल चिकित्सक दरबन्दी थप्न नसकिए पनि भएकै चिकित्सकबाट अधिक सेवा दिने गरी दुई सिफ्टमा सघीय अस्पतालमा सेवा थालिएको भन्दै मन्त्री पौडेलले यसले सरकारी चिकित्सकले बाहिर काम गर्नुपर्ने समस्या कम गर्न सक्ने बताए ।

चिकित्सक केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरेका थिए ।

मन्त्री पौडेलले चिकित्सककै सुविधा र सेवा वृद्धि गर्नेगरी व्यवस्था गर्न थालेको भन्दै यसमा आफ्नो अधिकतम प्रयास रहने बताए । स्वास्थ्य सेवाका चिकित्सकको सेवा र समस्या सम्बोधन गर्नका लागि स्वास्थ्य सेवा ऐन ल्याउने तयारीसमेत आफूले गरिरहेको मन्त्री पौडेलले बताए।

‘चिकित्सा सेवाको भूमिका र उनीहरुको योगदानलाई मूल्यांकन गर्ने गरी नै चिकित्सा सेवा ऐन ल्याउन लागेका हौं,’ मन्त्री पौडेलले भने, ‘त्यसले पनि धेरै कुरा सम्बोधन गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?