+
+

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते १६:२४

२ कात्तिक, काठमाडौं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सिंहदरबारमा सुरु भएको छ ।

गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बैठक बसालेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माणसहित पुनः निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने र विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्नेसहित सात प्रस्तावमाथि छलफल हुँदैछ ।

बैठकमा १९कात्तिक २०८० पछिका सबै विपद्का घटनाहरुको समीक्षा गर्ने, त्यसयताका घटनामा मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी, एवम् खोज तथा उद्धारका क्रममा खटिइ मुत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, विपद्पश्चातको खोज, उद्धार तथा राहत वितरणलगायतका कार्यमा सम्लग्न सबै व्यक्ति एवं सङ्घ–संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने पनि कार्यसूची छ ।

बैठकमा परिषद्का सदस्यहरु उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुलगायत सहभागी छन् भने परिषद्को सदस्य रहनुभएका प्रमुख विपक्षी दलका नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत उपस्थित छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएर उत्पन्न भएको मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित दुई सय ५० को मृत्यु भएको बताए।

उनले प्रारम्भिक अध्ययनमा ४६ अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी गराए। नेपाल सरकारले विपद्बाट प्रभावित ७१ पालिकालाई वर्गीकरण गरेर सहयोग उपलब्ध गराउन योजना बनाएको छ। बैठकमा यसबारे छलफल र समीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?