+
+

‘पूर्णबहादुरको सारंगी’बारे प्रकाश सपुत : सिर्जना निर्माता वा कलाकारको दम्भले चल्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते १९:२७

काठमाडौं । कलाकार प्रकाश सपुतले आगामी फिल्म ‘पूर्णबहादुरको सारंगी’सँग जोडिएको सन्दर्भबारे प्रष्टीकरण दिएका छन् । फिल्मको प्रवर्धनमा समय नदिएको र प्रेसमिटमा उपस्थित नभएको भन्ने चर्चाबीच शुक्रबार बेलुका फेसबुकमार्फत उनको टिप्पणी सार्वजनिक भएको हो ।

प्रष्टीकरणमा उनले सार्वजनिकरुपमा सर्त, सम्झौता र नकारात्मकताको कुरा नगर्ने समेत उल्लेख गरेका छन् । आफ्नो ब्यानरको फिल्म ‘वसन्त’अघि ‘पूर्णबहादुरको सारंगी’ रिलिज हुँदा असन्तुष्ट भएको हुनसक्ने चर्चाबीच उनले आफ्नो भनाई राखेका हुन् ।

घुमाउरो ढंगले यसअघि भएका असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न गरेका छन् । सिर्जना दर्शकको शुभेच्छा र स्वयम सिर्जनाको दमले चल्ने तर सर्जक, निर्माता वा कलाकारको दम्भले नचल्ने उनको टिप्पणी छ ।

उनी लेख्छन्, ‘अरुको सपना, संघर्ष र इमानमाथि बेइमानी र बदनामी गर्नेहरुसँग चाहिँ फेरी जोडिन नपरोस । कम्तिमा मर्यादित बनौ । अर्को कुरा सिर्जना, दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दमले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भले होईन । म यो कुरामा सधै स्पष्ट छु ।’

उनको यो असन्तुष्ट अभिव्यक्ति कतातर्फ लक्षित छ भन्ने स्पष्ट उल्लेख त गरेका छैनन् तर, निर्मातातर्फ हुनसक्ने अनुमान गर्न सकिन्छ । आफूले पूर्णबहादुरको सारंगीसँग कुनै सर्त नराखेको उल्लेख गर्दै सपुतले घुमाउरो ढंगले असन्तुष्ट व्यक्त गरेका छन् ।

उनको असन्तुष्टिको लाइन यस्तो छ- ‘हाम्रो चलचित्र बसन्तका निर्माताहरु, वितरकहरु र सहकार्य गर्ने ब्रान्डसँग परदेशी २पछि वसन्त नै आउनेछ भन्ने शर्तमा सम्झौता गरेका छौ । यो बीचमा थुप्रै निर्माता निर्देशकले आफ्नो फिल्ममा काम गराउन चाहनु भएको छ तर मैले ‘मलाई केही समय चाहिन्छ है’ भनेपछि केहीले प्रोजेक्ट होल्ड गरेर पर्खिरहनु भएको छ । केहि ले ‘ल फेरी गरौंला’ भनेर अरु विकल्प सोचिसक्नुभएको छ । म यतिखेर उहाहरु सबैसँग लज्जित छु । किनकी टिम वर्कमा एउटा मान्छे बैमानीमा पर्दा ऊसँग जोडिएका अरु थुप्रै मानिसलाई धोका हुन्छ । मैले पुर्णबहादुरको सारंगीका लागि कुनै सर्त राखेको थिइन । मैले त उहाँहरुलाई आफ्नो समस्या राखेको थिएँ र सोच्ने समय दिएको थिएँ । सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि छ !’

उनले फिल्मको पोस्टर सेयर गर्दै कात्तिक १५ गते रिलिज हुने पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?