
४ कात्तिक, काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ कात्तिक १२ देखि खुल्ने भएको छ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो ।
प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ ।
अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । सोबमोजिम यस कम्पनीको सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।
यस कम्पनीको सर्वसाधारणमा जारी सेयर २६. २० प्रतिशत मात्रै छ । एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।
गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ९३५ रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।
प्रतिक्रिया 4