+

बीपी स्मृति टी-२० मा रुपन्देही ११ र साइक क्रिकेटर्स विजयी

२०८१ कात्तिक  ५ गते १६:४३ २०८१ कात्तिक ५ गते १६:४३
बीपी स्मृति टी-२० मा रुपन्देही ११ र साइक क्रिकेटर्स विजयी

५ कात्तिक, रुपन्देही । रुपन्देहीको भैरहवामा जारी बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा बंगलादेशको साइक क्रिकेटर्स र नेपाली टिम रुपन्देही ११ विजयी भएका छन् ।

सोमबारको पहिलो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा श्रीलंका स्टेट सर्भिसेजलाई ८ विकेटले पराजित गर्‍यो ।

श्रीलंकन टिमले दिएको ११३ रनको लक्ष्य साइक क्रिकेटर्सले ९ ओभर बाँकी हुँदै २ विकेट गुमाएर भेट्टायो । साइकको लागि ओपनर मुनिम शाहरियरले अर्धशतकीय योगदान दिए जुन क्रममा ३० बलमा ७ चौका र २ छक्का मद्दतले ५१ रन प्रहार गरे। साद मोसरफले २५, फैसलले अविजित २२ तथा रकिबले १२ रन बनाए।

टस हारेर ब्याटिङ गरेको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनायो।

श्रीलंकन टिमको ब्याटिङमा ओपनरद्वय ननि वसुपालीले सर्वाधिक ५४ रन बनाए भने राज वीरले ३२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ७२ रनको ओपनिङ साझेदारीलाई उसले ठूलो योगफलमा परिणत गर्न सकेन ।

साइक क्रिकेटर्सका बलर सहादत रहमान र मोहम्मद रेफले २/२ विकेट तथा रकिबले १ विकेट लिए ।

सोमबारको दोस्रो खेलमा रुपन्देही ११ ले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित  गर्‍यो । तीन खेल खेल्दा रुपन्देहीको यो दोस्रो जित हो।

जावेद गोहरले दिएको ८१ रनको लक्ष्य रुपन्देहीले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

रुपन्देहीको लागि सुमित महर्जनले सर्वाधिक २८ रन बनाए जुन क्रममा १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै ओपनर म्रिनाल गुरुङले सर्वाधिक २० रन बनाए जुन क्रममा उनले अविजित रहँदै २५ बलमा २ चौका प्रहार गरे। पाकिस्तानी टिमको बलिङमा जइम खानले ३ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीले १८.१ ओभरमा ८० रनमा सबै विकेट गुमायो। पाकिस्तानी टिमको लागि शमुन इक्बालले १६, कप्तान इमरान नाजिरले १२ तथा अलि हुसेनले १० रन बनाए।

नेक्सस रुपन्देहीको बलिङमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट लिए । आलमले ३. १ ओभरमा १० रन खर्चिए। अर्का देब्रे हाते स्पिनर बसिर अहमदले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । पहिलो खेल खेलेका देब्रे हाते स्पिनर दिपेश कंडेलले २ तथा कप्तान कृष्ण कार्कीले १ विकेट लिए।

तेस्रो दिनको खेलहरु पछि अंकतालिकामा भारतको लाइफ केयर क्रिकेट क्लब दुवै खेलमा जितको साथ ४ अंक सहित शीर्ष स्थानमा छ । बंगलादेशको साइक क्रिकेटर्स पनि दुवै जित पछि ४ अंक सहित नेट रन रेटमा पछि हुँदै दोस्रो स्थानमा छ।

रुपन्देही ३ खेलमा २ जित र १ हार पछि तेस्रो स्थानमा छ। जितविहीन पाकिस्तानको जावेद गोहर ३ खेल पछि अंकविहीन छ। श्रीलंकाको टिम श्रीलंका स्टेट सर्भिसेस क्रिकेट एसोसिएसन पनि दुवै खेलमा हार पछि अंकतालिकाको पुछारमा छ। सहभागी पाँच टिमले एक अर्का विरुद्ध १/१ खेल खेलेपछि शिर्ष ४ टिम सेमीफाइनलमा पुग्नेछन्।

प्रतियोगिता अन्तर्गत चौथो दिन मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्ससंग तथा दोस्रो खेल दिउँसो १ बजे श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेस र भारतको लाइफ केयर क्रिकेट क्लबबीच खेलिनेछ ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ। प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा भइरहेको छ।

प्रतियोगिताको विजेता टिमले ५ लाख, दोस्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय