+
+

कमलरी अभियन्ता उर्मिला चौधरीले पाइन् अन्तर्राष्ट्रिय अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १३:४२

६ कात्तिक, काठमाडौं। मुक्त कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’बाट सम्मानित भएकी छन् ।

नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरेका हुन्।

चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अन्तर्राष्ट्रिय अवार्ड पाएका हुन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।

May be an image of 6 people and text

चौधरी सम्मानित भएको जानकारी दिँदै दूतावासले लेखेको छ, ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।’

उर्मिला चौधरीको घर दाङको गढवा गाउँपालिका–७ मानपुरमा पर्छ । उनको बुवाको नाम फुलट चौधरी र खलसी चौधरी हो । उनका तीन दाजु, एक दिदी र एक भाइ छन्।

पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्षसम्म साहुको घरमा कमलरी बसेकी  उर्मिला २०६३ माघ १ मा मुक्त भएकी थियन् ।  उनी मुक्त  भएसँगै त्यही अभियानमा जोडिएकी थिइन् ।

कानूनमा स्नातक गरेकी उर्मिलाले अहिलेसम्म संयुक्त राष्ट्रसंघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्सलगायत आधा दर्शन बढी अन्तर्राष्ट्रिय अवार्डस् पाइसकेकी छन्। कमलरी प्रथा उन्मूलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उर्मिलालाई नेडरल्यान्ड्सले ‘लउरियट फ्रीडम फ्रम फेयर अवार्ड २०१८’ बाट  सम्मानित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?