
तिर्खाले व्याकुल एउटा बाघ नदी किनारमा पुगेका थिए, पानी खोज्दै । यसो निहुरिएर पानी पिउनै लाग्दा अजंगको गोही उनीमाथि झम्टिए । अब बाघ नदीमा खस्यो । यहाँ ती दुई महाशक्तिबीच भयानक घम्साघम्सी चल्यो ।
साना माछाहरु तँछाड मछाड गर्दै भागे । आसपासका चराहरु भुर्र उडे । नदीमा छाल उठ्यो । पानीका लहरहरुले किनार नाघ्यो ।
केही क्षणपछि नदीको सतहमा यस्तो दृश्य देखिए । बाघ सकिनसकी किनारतर्फ बढ्यो । बाहिर निस्कदा ऊ आफूमात्र थिएन, उसको मुखले गोहीको गर्दन अठ्याएको थियो । आक्रमण गर्न तम्सिएका गोहीलाई बाघले आफ्नो शिकार बनाएका थिए ।
द्वन्द्वको यस्तो सरप्राइज कम्ता रोमाञ्चक हुँदैन । यसले रमितेको हृदयमा एक किसिमको तुफान पैदा गर्छ । त्यसैमा उनीहरु उफ्रिन्छन्, ताली बजाउँछन्, सिटी फुक्छन् र आनन्दाभूत गर्छन् । परायको मुकाममा धावा बोल्नु, युद्ध गर्नु र जित्नु द्वन्द्वको शानदार उत्कर्ष हो ।
‘इलाका तेरो, धमाका मेरो’ भन्ने शैलीको यस्तै द्वन्द्वात्मक संवाद बोल्दै र शैली अपनाउँदै नेपाली सिनेमामा एउटा हिरोको शानदार उदय भएको छ, समीर भट्ट । नेपाली दर्शकका हकमा समीर आफैमा एक सरप्राइज हुन् । उनी यसरी आए, मानौं एउटा बिरक्तलाग्दो सन्नटापछि अचानक आँधी आएको होस् ।
किनभने यसअघि उनको कुनै नामोनिसाना थिएन, ग्ल्यामरवृत्तमा । उनका पिता खासगरी अभिनेता विराज भट्टले समीरलाई यहाँसम्म ‘ग्रुमिङ’ गरेको कुनै संकेत दिएका थिएनन् । त्यसो नहुँदो हो त, ‘के बिराजको छोरो पनि फिल्म खेल्नेछन् ?’ ‘कहाँ छन् बिराजका छोरो ?’ ‘बिराजले किन यत्तिका लक्का जवान छोरोलाई सिनेमामा ल्याएनन् ?’ शैलीको शीर्षकमा धेरै ग्ल्यामर सामाग्री प्रकासित–प्रसारण भइसकेका हुन्थे ।
तर, त्यस्तो भएन । नेपाली सिनेमामा ‘एक्सन नायक’ बनेर देखा परेका विराज यताको करियर थाँती राख्दै भोजपुरी सिनेमातिर दौडिएका थिए । त्यसपछि उनको बारेमा उति सोधीखोजी हुन छाडेको थियो । त्यो चरण कस्तो थियो भने, नेपालमा धमाधम सामाजिक यर्थातवादी सिनेमाहरु बन्न थालेका थिए । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता अभिनेताहरुले नेपाली सिनेमाको सत्ता कब्जा गर्दै थिए । राजेश हमाल युगको अवासनपछि देखापरेका दोस्रा लटका नायकहरु पनि तितरबित्तर हुँदै थिए । निखिल उप्रेती, रमेश उप्रेती, शुसिल क्षेत्री, आर्यन सिंग्देल, राजबल्लभ कोइराला जस्ता अभिनेताहरुको जादु मत्थर हुँदै थियो ।
अनि उनीहरुको विरासत थाम्न छोरा पुस्ताले नेपाली सिनेमामा पाइला राखिसकेका थिए । अनमोल केसी, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, धीरज मगर, पुष्पा खड्काहरुले सिल्भर स्क्रिनमा उस्थिती जनाउँदै थिए । कडा मिहेनत गर्ने यो छिमलका नायकहरु अझै ‘लिगलिगे दौड’मा थिए ।
करियरको पूर्वाद्धमा जसरी अनमोलले दर्शकको ध्यान आफूतर्फ केन्द्रित गरेका थिए, पछि सो आकर्षण फिका हुँदै गएको थियो । स्टारडमका इपिसेन्टरमा उनले आफूलाई दह्रोसँग टेकाउन पाएनन् वा सकेनन् । त्यसो हुनुमा अनमोल एक्ला दोषी थिएनन्, खासमा त उनका लागि फिल्म बनाउनेहरु त्यती गतिलो परिदिएन । अनमोल आफैमा कठोर मिहेनत गर्ने भएपनि उनको चरित्र सुहाउँदो कथा र पात्रलाई उतार्न सक्ने ल्याकत भएका निर्देशक भइदिएनन् ।
बरु यस मानेमा प्रदीप खड्का भाग्यमानी ठहरिए । उनले विविधतामा आफूलाई पेश गरे र अभिनय कौशल देखाइदिए । तर, प्रतिस्पर्धात्मक करियरमा अझैपनि उनी ‘संघर्षरत’ छन् । यो छिमलमा नाजिरको पहिचान फरक रह्यो । एउटा मामुली चरित्रको टेकोमा उदाएका उनी पृथक चरित्रबाट आफ्नो इलाका विस्तार गर्दैछन् ।
दयाहाङ राई, विपिन कार्की, अनमोल केसी, प्रदीप खड्का आदिको सेरोफेरोमा फन्को लगाइरहेको नेपाली सिनेमामा सानोतिनो कम्पनसँगै विराज भट्टले फेरी प्रवेश गरे । यसपाली उनीमात्र थिएनन्, साथमा छोरो पनि थिए ।
‘विराजका छोरो पनि छन् र ?’ भन्ने उत्सुकताबीच उनले आफ्नो लक्का जवान छोरोलाई अचानक स्पटलाइटमा उभ्याए । सामाजिक सञ्जालबाट समेत अलग राखेर हुर्काएका छोरो सबैको ध्यान खिच्दै जोडदार रुपमा प्रस्तुत भए । यसरी–
‘बजाइदे नरसिङ्गा, बर्साइदे फूल
बढ्दैछ कदम मेरो ।
सिंहासन तेरो, साम्राज्य तेरो
तर, राज मेरो ।’
यही संवादसँगै विराज पुत्र समीरले यतिबेला सिनेमा घरहरुमा पराकम्पन पैदा गरिदिएका छन् । खासमा उनकै छिमलका जेन जी पुस्ता उद्वेलित छन्, समीरलाई देखेर । एक्सन नायकको रुपमा उनले हार्दिकतापूर्वक स्वागत पाइरहेका छन् । अग्ला कद, सुगठित ज्यानले मात्र होइन उत्तिकै धमकेदार द्वन्द्व र सम्मोहित नृत्य कौशलले उनलाई केन्द्रमा उभ्याएको छ ।
चलचित्र ‘१२ गाउँ’ले जसरी दर्शक बटुल्दैछ निसन्देह त्यसको चुम्बकिय आकर्षण उही समीर हुन् । एक्सन ड्रामा वा रहस्यमयी कथाले यसमा थोरबहुत साथ दिएको होला । तर नेपाली दर्शकका लागि यस्तो कथा ताजा र नौलो भने थिएन । ‘१२ गाउँ’ अघि–पछि यस्तै र अझ राम्रा फिल्महरु आए–गए । दर्शक यसरी झुम्मिएनन् । ‘बोक्सीको घर’ पछि औसत फिल्मले ‘अपार सफलताका साथ प्रदर्शन हुने’ अवसर पाएनन् । दशैंको छेकोमा बलियो ब्रान्ड ‘छक्का पञ्जा’को पाँचौ शृंखलासँग कुम जुधाउँदै प्रदर्शनमा आएको ‘१२ गाउँ’ले सबैलाई आश्चर्यमा पार्दै प्रदर्शनमा बाजी मारिरहेको छ । आखिर किन चल्यो यो फिल्म ? फिल्म नहेर्नेसँग मात्र होइन हेर्नेसँग पनि यसको जवाफ नहोला । किनभने यसको एउटै जवाफ हो, समीर भट्ट ।
नेपाली सिनेमाको एउटा रिक्त ठाउँमा आइपुगेका छन् उनी । यो ठाउँमा अक्सर ‘हिरो’को खोजी हुनेगर्छ । यस्तो हिरो, जो पर्दाभित्र र बाहिर उत्तिकै चमकदार देखियोस् । यस्तो हिरो, जसको उपस्थितीले हठात् भिड जम्मा गरोस् । यस्तो हिरो, जो व्यापार–ब्रान्ड प्रबर्द्धनको मियो बनोस् । यस्तो हिरो, जो नेपाली सिनेमाको अर्थोपार्जन बनोस् । यस्तो हिरो, जो समाजको आइडल बनोस् ।
प्रतिक्रिया 4