
चुपचाप छौ किन केही त बोल न
चुपचाप छौ किन केही नजिक बसिदेऊ न
रिसाएकी छौ किन
एकचोटि हाँसी देऊ न
गायक चन्दन शंकरले नयाँ गीत ‘चुपचाप’का शब्द हुन् यी । प्रेमभावको यो गीतमा चन्दनकै शब्द तथा संगीत छ । गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।
प्रेमी-प्रेमिकाबीच कुनै कुरा असमझदारी हुँदा एकले अर्कोलाई फकाउन गरेको प्रयास गीतले व्यक्त गर्छ । सेमी-क्लासिकल शैलीको यो गीतको भिडियोमा चन्दन स्वयं फिचर्ड छन् । उनले सार्वजनिक गरेको यो दोस्रो गीत हो ।
झापाको गौरादह नगरपालिकाका उनी हाल काठमाडौंमा सांगीतिक संघर्ष गरिरहेका छन् । आफ्नो संगीतसँगको लगाव पारिवारिक कारणले भएको गायक शंकरले बताए । उनका बुबा नैनसिंह शंकर पनि नेपाली संगीतसँगै जोडिएका व्यक्ति हुन् । बुबा नैनसिंहले राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
विद्यालय शिक्षापछि काठमाडौं छिरेका चन्दन शंकर उच्च शिक्षा हासिल गर्दै व्यवसायतिर पनि लागे । केही समय वैदेशिक रोजगारीमा समेत गएका उनको पहिलो गीत ‘जिन्दगी मेरो केवल तिमी’ हो । आफूले अन्य गीतको पनि तयारी गरिरहेको र संगीतमा निरन्तर लागिरहने चन्दनले बताए ।
‘चुपचाप’लाई ‘चन्दन शंकर‘ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
प्रतिक्रिया 4