
काठमाडौं । प्रहरीले सर्जकको अनुमति बिना फिल्म, संगीत र फोटो चोरी गर्ने, टिकटक र रिल्स बनाउनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले भिडियो सन्देश जारी गर्दै त्यसो नगर्न सचेत गराएका छन् ।
भिडियोमा कार्कीले भनेका छन्, ‘कुनै पनि गीतसंगीत, चलचित्र, लेख, फोटो बौद्धिक सम्पत्ति हुन् । त्यस्तो बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमतिबेगर चोरी गर्ने, टिकटक बनाउने, रिल्समा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक संजालमार्फत प्रसारण गर्ने लगायतका गैरकानूनी क्रियाकलापहरु नगर्नको लागि सबैमा अनुरोध छ ।’
त्यस्तो कसुर गर्ने व्यक्तिलाई प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम हदैसम्मको कार्वाही हुने पनि प्रहरीले जनाएको छ ।
पाइरेसी अपराध भएको बताउँदै प्रहरीले पहिलो पटकको हकमा १० हजारदेखि १ लाखसम्मको जरिवाना र ६ महिनासम्मको कैद सजाय, पटकेको हकमा २० हजारदेखि २ लाखसम्मको जरिवाना र २ वर्षसम्मको कैद सजाय वा दुबै सजाय हुने कानूनी व्यवस्था समेत सम्झाएको छ ।
साथै, क्षतिपूर्ति समेत भराउने चेतावनी पनि प्रहरीको छ । ‘कानूनी सजायबाट आफू पनि बचौं र आफ्ना आफन्तहरुलाई पनि बचाऔं’ प्रवक्ता कार्कीले भनेका छन् ।
पछिल्लो समय फिल्म र संगीतको पाइरेसी वृद्धि भएपछि सर्जकले हैरानीको सामना गर्नु परिरहेको छ । दुई साताअघि आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ टिकटकमा पाइरेसी भएपछि निर्माता निश्चल बस्नेतले साइबर ब्युरोमा उजुरी दिएका थिए । चलिरहेका फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि फेसबुक र युट्युवमा लिक भएका थिए ।
प्रतिक्रिया 4