+
+
सरकारको १०० दिन :

अघिल्ला सरकारले गरेका काम प्रधानमन्त्री ओलीको उपलब्धि सूचीमा

प्रधानमन्त्री ओलीले अघिल्ला सरकारले गरेका राम्रा कामको सापटी लिएर आफ्नो सय दिनको उपलब्धि सूचीमा राख्न भ्याए, तर ‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो, आज त्यसमा सुधारका संकेत देखापरेका छन्’ भन्दै अघिल्लो सरकारको मुख्य साझेदार आफैंलाई गाली गर्न समेत भ्याए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १९:२२

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधन गरे । आफ्नो तीनमहिने कार्यकाल पूरा भएको अवसरमा आफूले गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको दाबी गरेका प्रधानमन्त्रीले उपलब्धि सूचीमा यस्ता काम पनि राखेका छन्, जुन उनी आउनुभन्दा अगाडिकै सरकारले कार्यान्वयनमा ल्याएको हो । त्यस्तै, ओलीले कतिपय यस्ता काम सम्पन्न भएको दाबी गरेका छन्, जुन सम्पन्न भएकै छैन ।

अझ रोचक के छ भने प्रधानमन्त्रीले एक शब्द उच्चारण गरे, जसमा उनले स्वयंलाई आलोचना गरेका छन् । उनले भने, ‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो !’

तर, यसअघि सरकारको मुख्य साझेदार समेत केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले नै थियो । एमालेले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेको थियो ।

सोही कारण उनले अघिल्ला सरकारले गरेका राम्रा कामको सापटी लिएर आफ्नो सय दिनको उपलब्धि सूचीमा राख्न भ्याए, तर ‘हामी सरकारमा आउँदा अर्थतन्त्र डाँवाडोल थियो, आज त्यसमा सुधारका संकेत देखापरेका छन्’ भन्दै अघिल्लो सरकारको मुख्य साझेदार आफैंलाई गाली गर्न समेत भ्याए ।

माओवादी तथा कांग्रेस गठबन्धन सरकारले अगाडि बढाएको सार्वभौम क्रेडिट रेटिङको कामलाई उनले सय दिने उपलब्धिका रूपमा आफ्नो काममा समेटेका छन् । सन् २०१९ मा नै यसको प्रक्रिया सुरु भएर रोकिएको थियो, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले त्यो प्रक्रियालाई पुनर्जीवन दिएका छन् । तत्कालीन सरकारले लगानी सम्मेलनअघि नै क्रेडिट रेटिङ सक्ने बताए पनि हालसम्म त्यो सकिएको छैन ।

यसैगरी राजस्व र सरकारी खर्च बढेको दाबी गरेका उनले ती दुवै क्षेत्रमा लक्ष्य प्राप्ति निकै दुरुह रहेको कुराको जिम्मेवारी लिने चेष्टा गरेनन् ।

लगानीकर्ताको भौतिक उपस्थिति विना कुल पूँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा ल्याएको उनको दाबी छ ।

यो कामसमेत अघिल्लो सरकारले लगानी सम्मेलनकै दिन उद्घाटन गरेको हो । जसको नेतृत्व एमालेसँगै थियो । सोहीकारण ओलीले त्यसको जस आफैंसँग राख्न भ्याए ।

सवारी लाइसेन्स वितरणमा आफ्नो कमजोरी ढाक्न सरकारले हतार–हतार नागरिक एपबाट लाइसेन्स पाउने घोषणा गरेको छ ।

आफ्नो लक्ष्यभन्दा निकै सुस्त गतिमा अगाडि बढेका कुनै पनि आयोजनालाई वर्तमान सरकारले छिटो सम्पन्न गर्न प्रयास गरेन । बरु, आफ्नै गतिमा अगाडि बढी सम्पन्न भएका केही आयोजनाका कामलाई भने प्रधानमन्त्रीले उपलब्धि सूचीमा राख्न भ्याएका छन् ।

जसमा नेपाली सेनाले व्यवस्थापन गरिरहेको द्रुतमार्गका सुरुङमार्ग, जापानी कम्पनीले बनाइरहेको नागढुंगा सुरुङको काम उल्लेख गरेका छन् ।

यसबीच वर्षौंदेखि निर्माण सुरु भई पटक–पटक म्याद थप्दा पनि सम्पन्न हुन नसक्दा जनताले दुःख पाएका नारायणगढ–बुटवल, पोखरा–मुग्लिन, मुग्लिन–नागढुंगा सडकमा आफ्नो असरल्ल कमजोरीलाई कतै उल्लेख गरेनन् ।

पछिल्लो ९० दिनमा ३२.५ किलोमिटर सडक कालोपत्र गरेको तथ्यांकले स्वयं प्रधानमन्त्रीलाई गिज्याउँछ । किनकि, यो तथ्यांक अनुसार नेपालमा सडक कालोपत्रको गति प्रतिदिन ३६० मिटर मात्र रहेको देखिन्छ । उनले उपलब्धि सूचीको यो विषय वास्तवमा ठूलो नालायकीपन हो ।

सरकारले आफ्नो १०० प्रगति विवरणमा ३५ जिल्लाका ३० लाखभन्दा बढी किसान दूधको भुक्तानी नपाएको समयमा लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएको दाबी गरेको छ ।

रकम भुक्तानीमा सरकारले अर्थमन्त्रालय तर्फ ६० करोड दुग्ध विकास संस्थान (डीडीसी) लाई उपलब्ध गराएको हो । तर, यो पर्याप्त होइन ।

केन्द्रीय दुग्ध सहकारी अध्यक्ष अमरबहादुर कुँवरले पर्याप्त भुक्तानी हुन नसकेको बताए । ‘केही किसानले राहत पाएकै हुन्, तर पर्याप्त छैन, अहिले पनि १ अर्बभन्दा बढी भुक्तानी बाँकी छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?