+
+

तिहारलाई पर्याप्त चिनी, मूल्य औसत

विभागका अनुसार निजी क्षेत्र तथा सरकारी निकायसँग पर्याप्त मौज्दात रहनुका साथै आयात पनि गरेकाले तिहार र छठ पर्वमा चिनी अभाव नहुने भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ कात्तिक ८ गते ८:०५

८ कात्तिक, काठमाडौं । नजिकिएको चाड तिहारमा बढी खपत हुने वस्तुमध्ये एक चिनी अभाव यस वर्ष नहुने सरोकारवालाले बताएका छन् ।

निजी क्षेत्र तथा सरकारी निकायले पर्याप्त मौज्दात तथा आयात गरेका कारण बजारमा अभाव नहुने उनीहरूको दाबी छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार यस वर्ष कम्पनीले मात्र १ सय ५० टन चिनी खरिद गरी नेपाल ल्याउने क्रममा रहेको र अहिले पनि साल्ट ट्रेडिङ कर्पोरेसनबाट चिनी ल्याएर बजारमा वितरण भइरहेको उनले जानकारी दिइन् ।

उनका अनुसार अहिले प्रतिकिलो १ सय २ रुपैयाँमा चिनी बिक्री भइरहेको छ । थप चिनी आउने क्रममा रहेका कारण यस वर्ष चाडबाडमा मूल्यसमेत धेरै नबढ्ने उनको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अनुसार यस वर्ष दशैंबाट पर्याप्त चिनी बजार पठाइएको छ । जसले गर्दा व्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने मौका पाउने छैन ।

कम्पनीका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार अहिले एक उपभोक्तालाई अधिकतम ६ किलोसम्म चिनी साल्ट ट्रेडिङबाट बिक्री भइरहेको छ । सोहीकारण अभाव होला वा मूल्य बढेर समस्या होला कि भन्ने समस्या चिनीमा नरहेको उनको भनाइ छ ।

नेपाल खुद्रा व्यापार संघले समेत यस वर्ष बजारमा चिनी अभाव नहुने बताएको छ । संघ अध्यक्ष पवित्र बज्राचार्यका अनुसार निजी क्षेत्रको चिनी अहिले १ सय २० रुपैयाँ अधिकतमसम्म बिक्री भइरहेको छ । योभन्दा मूल्य भने माथि नजाने विश्वास लिइएको उनको भनाइ छ ।

‘थोक व्यापारीले गत वर्ष सामान लुकाएर मूल्य बढाएका थिए,’ उनले भने, ‘यस वर्ष सरकारी निकायले धेरै चिनी ल्याउने भएपछि मूल्य नबढ्ला ।’

मौज्दात समेत पर्याप्त रहेको भन्दै उनले तिहारमा चिनी अभाव नहुने उनले बताए । गत वर्ष चिनीको मूल्य किलोको १ सय ७० रुपैयाँसम्म पुगेको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत यस वर्ष चिनीमा समस्या नरहे पनि खानेतेलको मूल्यले भने उपभोक्तालाई समस्या बनाउन सक्ने बताएको छ ।

यद्यपि, यसमा कृत्रिम अभाव सिर्जना गरी मूल्य नबढाइयोस् भनेर विभागले अनुगमन निरन्तर बढाइरहेको उनको भनाइ छ ।

‘हामीले आयातकर्ता समक्ष मूल्य विवरण नै मागेर अनुगमन गरेका छौं,’ उनले भने, ‘बढी मूल्य राखेको पाइए हामी कडा कारबाही गर्छौं ।’

यस वर्ष सुजी र मैदाको कमी बजारमा देखिएको उनले बताए । यसको समाधानका लागि गहुँ आयात खुकुलो बनाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?