८ कात्तिक, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लाइपजिगलाई १-० ले पराजित गरेको छ ।
डार्विन नुनेजको निर्णायक गोलमा लिभरपुलले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पारेको हो ।
नुनेजले २७औं मिनेटमा मोहमद सालाहको पासमा गोल गरेका थिए ।
लगातर तेस्रो जितपछि लिभरपुल ९ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । लिभरपुल अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्ने दुई टोली मध्ये एक हो र संयोगवस दुवै टोली इंग्ल्याण्डकै छन् । यस सिजन एस्टन भिल्लाले पनि गज्जबको प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ । भिल्ला गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
अर्को इंग्लिस टोली म्यानचेष्टर सिटीले स्पार्टा प्रागलाई ५-० ले पराजित गरेको छ । सिटीका लागि एर्लिङ हालान्डले दुई गोल गरे भने फिल फोडेन, जोन स्टोन्स र माथुएस नुनेजले समान एक गोल गरे ।
लिगमा दोस्रो जितपछि सिटी तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । सात टोलीको समान ७ अंक भएपनि गोल अन्तरमा सिटी सबैभन्दा अघि छ ।
प्रतिक्रिया 4