
काठमाडौं । साम्राज्ञी शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’ हालै प्रदर्शनमा आयो । प्रशंसक उनलाई नयाँ फिल्ममा हेर्न अधैर्य छन् । यस्तोमा, उनले म्युजिक भिडियोमा अभिनय गरेको खबर छ ।
महंगो लागतमा निर्माण गरेको जनाइएको उनी अभिनित म्युजिक भिडियोको छायांकन हालै थाइल्याण्डमा गरिएको छ । दशैंअघि छायांकन गरिएको भिडियो ‘मालती’मा ६० लाख लगानी गरिएको निर्देशक सञ्जय न्यौपानेले दाबी गरे ।
भिडियोको शीर्ष भूमिकामा शाह र विशाल खरेलले अभिनय गरेका छन् । बुधबार परेको खरेलको जन्मदिन अवसरमा गीतको फस्टलुक स्वरुप स्टिल फोटो सार्वजनिक गरिएका छन् । एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो ।
गीतमा थाइल्याण्डका मंहगा मोडललाई कोरसको रुपमा प्रयोग गरिएको छ । सार्वजनिक तस्वीरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन् । खरेलसँग उनी रोमान्टिक मुडमा प्रस्तुत भएको देख्न सकिन्छ ।
निर्माता सञ्जयले यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन् । गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीको शब्द, संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर छ ।
सौरभ लामाले खिचेको भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।
प्रतिक्रिया 4