
८ कात्तिक, काठमाडौं । मुटुको समस्या पहिचानका लागि एञ्जीओग्राम गर्ने क्रममा दाँया पाखुरामा बनाइएको सानो घाउको उपचारमा चिकित्सकीय लापरवाही भएको भन्दै एक पीडित परिवारले ललितपुर भैंसेपाटीको मेडिसीटी अस्पतालविरुद्ध जिल्ला अदालत ललितपुरमा क्षतिपूर्ति मुद्दा हालेका छन् ।
एञ्जीओग्राम गर्ने क्रममा पाखुराबाट नली छिराँउदा भएको घाउको उपचारमा लापरवाही भएको, त्यसक्रममा उचित उपचार नगरेका कारण जटिलता आएको र त्यसले बिरामीको मृत्यु भएको भन्दै पीडितहरुले अस्पताल प्रशासन र पाँच चिकित्सक विरुद्ध नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी गरेका छन् ।
मृगौला रोगबाट पीडित ज्ञानप्रसाद रिमाललाई उपचारका क्रममा मुटुको समस्या देखिएपछि एञ्जीओग्राम गरिएको थियो । त्यसक्रममा पाखुरामा बनाइने सानो घाउबाट रक्तस्राव भएको भनी कसेर ब्याण्डेज बाँधिएको र त्यसबाट सुरु भएको जटिलताले बिरामीको ज्यान गएको पीडित पक्षको आरोप छ ।
मृतक ज्ञानप्रसादका छोरा प्रताप रिमालका अनुसार, नेपालमा अवकाशप्राप्त जीवन बिताइरहेका ज्ञानप्रसादको मृगौलामा समस्या देखिएपछि भारतमा लगेर उपचार भएको थियो र त्यसपछि भैसेपाटीको मेडिसीटी अस्पतालमा नियमित डाइलासिस गर्ने गरिएको थियो । छोराछोरीले अमेरिका गएर उपचार गर्नुपर्ने सल्लाह दिँदा उनले ‘नेपालमै सुविधासम्पन्न अस्पताल बनिसकेको भन्दै यहीँ नै बसेर उपचार गर्ने’ जवाफ दिएको छोरा प्रताप बताउँछन् ।
डाइलासिस गरिरहदा स्वास्थ्यमा अरु समस्या देखिएपछि ३१ भदौमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको कागजातबाट देखिन्छ । एञ्जीओग्राफी (मुटु र रक्तनलीबाट हुने रक्तप्रवाहमा समस्या भए नभएको परीक्षण गर्ने विधि) गरेर हेर्दा रक्तनलीमा अवरोध देखिएपछि त्यसलाई उपचार गरेर हटाइएको छोरा प्रताप बताउँछन् ।
बाबु बिरामी भएको थाहा पाएपछि प्रताप, चिकित्सक समेत रहेकी उनकी दिदी डा. ज्योती रिमाल नेपाल आएका थिए । उनीहरुका भाइ प्रसन्न बाबुको हेरचाहका क्रममा नेपालमै थिए । मुटुमा समस्या देखिएपछि उनीहरुका बाबु ज्ञानप्रसादको आकस्मिक रुपमा एञ्जिओप्लास्टी गरिएको थियो ।
एञ्जीओग्राफी गर्ने क्रममा दाँया हत्केलामाथिको पाखुराबाट बिरामीको हातमा नली छिराइएको थियो । त्यसक्रममा बनेको घाउ सुन्निएको देखेपछि आफन्तहरुले स्वास्थ्यकर्मीलाई सोधेका थिए । नर्सहरुले ‘सबैको यस्तै हो, चलाएपछि यो ठीक हुन्छ’ भनी जवाफ दिएको मृतक परिवारले दिएको उजुरी र त्यसको साथमा पेश गरेको अडियोमा उल्लेख छ ।
कुरुवाहरुलाई अस्पतालमा बस्न नदिने र अस्पतालले नै बिरामीको सबै हेरचाह गर्ने व्यवस्था रहेकाले आफूहरु दिनभर अस्पतालमा बसेपछि घर जाने गरेको प्रताप बताउँछन् ।
३ असोज बिहान अस्पतालबाट फोन आएको थियो । ‘बिरामीको सुन्निएको हातबाट हल्का रगत आएको रहेछ, हामीले फेरि टेप लगाइदियौं, त्यही भन्नका लागि फोन गरेको’, भनेर नर्सले जवाफ दिएको प्रताप बताउँछन् ।
त्यसको केहीबेरमा अस्पतालबाट फेरि फोन आयो । छोरा प्रतापका अनुसार, डाक्टरहरुले ‘हामी अपरेसन थिएटरबाट कल गरेको हो, बिरामीको इमर्जेन्सी अपरेसन गर्नुपर्ने भयो, तपाईंहरु साइन गर्न छिटो अस्पताल आउनुहोला’ भनी बोलाएका थिए ।
त्यसपछि प्रतापले जवाफ दिए, ‘बुबा अस्पतालको आईसीयुमा हुनुहुन्छ, हामीलाई भेट्न जान दिनहुन्न । तपाईंहरुले किन बेलैमा खबर गर्नुभएन ? कि राती पनि केही गडबड भएकाले फोन गर्नुभएको हो ?’
उनीहरु अस्पताल पुग्दा ज्ञानप्रसादलाई स्ट्रेचरमा राखेर अपरेसन थिएटरमा लैजाने तयारी भइरहेको थियो । आफूहरुलाई देख्नासाथ बाबु रोएको प्रताप बताउँछन् । त्यतिबेला ज्ञानप्रसादले ‘मेरो हातमा टन्टनी टेप कसिएको थियो । रातभर दुखेर चिच्याउँदा पनि यिनीहरुले वास्ता गरेनन् । मेरो वास्तै भएन’, भनेको प्रतापको भनाइ छ ।
डाक्टरहरुले प्रताप, उनको दिदी र भाइलाई भेटे । अनि केस जटिल भएको भन्दै आकस्मिक रुपमा अपरेसन नगरे बाबुको हात काट्नुपर्ने सूचना दिए । अनि उनीहरुले हातको अपरेसनको लागि मञ्जुरीनामामा हस्ताक्षर गरे ।
उनीहरु उपचारका बारेमा गुनासो गर्न डा. रञ्जितकुमार शर्माको कार्यकक्षमा गए । उनले अस्पतालको इञ्चार्ज बताउने डा. किशोरकुमार खनाललाई भेटाए । डाक्टरहरुको अनुमति लिएर आफूले कुराकानीको अडियो रेकर्ड गरेको र ३२ मिनेट लामो कुराकानीमा डा.शर्माले एलर्जीका कारण बिरामीको हातमा फोका आएको बताए । उनले अडियोमा भनेका छन्, ‘नेपालमा सियो पनि बन्दैन भन्ने तपाईलाई थाहै छ, टेपको एलर्जीका कारण यस्तो भएको हो ।’
डाक्टरहरुले उनीहरुलाई ‘पर्खने र हेर्ने बाहेक अरु विकल्प नभएको’ आश्वासन दिए । त्यसबीचमा उनीहरुको बुबाको हातको अपरेसन भयो, थिएटरबाट बाहिर निकाले । सर्जरी विभागका प्रमुख डा. सुनिल कुमार शर्माले ‘कम्पार्टमेन्ट सिन्ड्रोम’का कारण यस्तो समस्या आएको भन्दै अपरेसनको विकल्प नभएको बताए ।

मांशपेशीमा अत्यधिक दबाब परेको अवस्थामा ‘कम्पार्टमेन्ट सिन्ड्रोम’ हुन्छ । चोट पटक वा अपरेसनमा जटिलताका कारण पनि त्यस्तो हुन्छ । उपचार एवं चिकित्सकीय विषयवस्तुमाथि लेख रचना प्रकाशित गर्ने डा. सुवास प्याकुरेल शरीरको कुनै एक भागको मांशपेशी वा टिस्युहरुमा असाधारण दबाब बढ्ने समस्यालाई कम्पार्टमेन्ट सिन्ड्रोम भनिने बताउँछन् । ‘यसले गर्दा रगतको प्रवाह रोकिन्छ र अक्सिजन त्यो क्षेत्रसम्म पुग्न सक्दैन’, उनी भन्छन्, ‘समयमै उपचार नगरिएमा, मांशपेशी र नशाहरु बिग्रन सक्छन् ।’
उनका अनुसार, खास गरी हात वा खुट्टाका मांशपेशीमा यस्तो समस्या हुने गर्छ । हड्डी भाँचिदा, गम्भीर चोटपटक लाग्दा वा प्लास्टर गर्दा यस्तो समस्या देखिन्छ । यसलाई रोक्न वा उपचार गर्न तुरुन्तै चिकित्सकको सल्लाह आवश्यक हुने उनी बताउँछन् ।
उपचार सम्बन्धी कागजातहरुका अनुसार, ज्ञानप्रसाद रिमालको दाहिने हातमा कम्पार्टमेन्ट सिन्ड्रोमपछि हात सुन्निने र अस्वाभाविक फोकाहरु देखिने समस्या भएको थियो ।
एन्जीओप्लाष्टीपछिको सामान्य घाउमा रगत बग्न थालेपछि अस्वभाविक रुपमा टेपले कसेकाले त्यो अवस्था आएको मृतकका आफन्तहरुको आरोप छ ।
उनीहरुले हातको सबै मांशपेशी काटेर चिलेर मिलाएको छोरा प्रताप बताउँछन्, त्यससम्बन्धी भिडियो समेत उनीहरुले अदालतमा पेश गरेका छन् । उनका अनुसार, अर्धचेत अवस्थामा रहेका बाबु छट्पटाइरहेका थिए ।
पेशाले चिकित्सक समेत रहेकी डा. ज्योती रिमालले आफ्नो बाबुलाई देख्नेबित्तिकै उनको जटिल स्वास्थ्य अवस्थावारे थाहा पाइन् । अपरेसनपछिको रक्तस्राबका कारण उनी झन् पछि झन् शिथिल हुँदै गएका थिए । अपरेसनको दुई घण्टाभित्रै स्थिति थप जटिल भएर ‘मल्टिअर्गान फेलियर’ हुन थालेपछि डाक्टरहरुले उनलाई भेन्टिलेटरमा राख्न थाले ।
थप ७/८ घण्टा भेन्टिलेटरमा राखेर चिकित्सकहरुले डाइलासिस गराए, २३ पिन्ट रगत दिए । चिकित्सकहरुले ‘बिरामीको केही मिनेट बाँकी छ, जो जो भेट्न खोज्नुभएको छ, आउनुहोस्’ भनेर बोलाए ।
‘ड्यामेज कन्ट्रोलका लागि उहाँहरुले जे जे सकिन्छ, गर्नुभयो’, प्रताप भन्छन्, ‘अर्को दिन बिहान मात्रै बाबुको ज्यान नरहेको घोषणा भयो ।’ डेथ सर्टिफिकेटमा हातको मांशपेशीमा परेको चोट र त्यसको उपचारका क्रममा बिरामीको निधन भएको उल्लेख छ ।
ज्ञानप्रसादको मृत्यु भएको घोषणापछि अस्पतालले दिने कागजात तयार नहुँदै प्रहरी प्रभाग भैसेपाटीकी इन्सपेक्टरर बिनुकुमारी शाही नेतृत्वमा ठूलो संख्याको प्रहरी टोली अस्पतालभित्र आयो । उनीहरुले ‘तपाईंहरु उता जानुस्, यता नबस्नुस्’ भनेर धम्क्याउन थालेको प्रताप बताउँछन् ।
त्यसपछि प्रताप झोक्किए । ‘मैले बाबु गुमाएको छु, म पीडित हो, मैले तपाईंलाई बोलाएको छैन, मेरो बुबाको ज्यान गएको छ । तपाईंहरुले उल्टै मलाई धम्क्याउने ?’ भनेर झोक्किए । त्यसपछि बल्ल प्रहरी टोलीले संयमित व्यवहार देखायो ।
एकातिर बाबुको निधन भएको थियो, अर्कोतिर छोरी ज्योतीले उपचारमा भएको लापरवाहीका कारण आफ्नो बाबुको ज्यान गएको भनी अस्पतालमा सात पेज लामो उजुरी लेखिन् । अस्पतालले उपचारका क्रममा खर्च उठेको आठ लाख रुपैयाँको भुक्तानी मागेन । धरौटी रकम पनि फिर्ता गरिदियो ।
पत्नी र तीन छोराछोरीले पशुपति आर्यघाटमा ज्ञानप्रसादको अत्येष्टी गरे । ‘उपचारमा यो हदसम्मको लापरवाही हुन्छ भनेर हामीले कल्पना पनि गरेका थिएनौं, धन्न दिदी मेडिकल क्षेत्रमा भएकाले सबै थाहा भयो, कयौं दिनसम्म हामी बिक्षिप्तजस्तै भयौं’, प्रताप भन्छन्, ‘काजकिरियाको काम सकेपछि हामीले न्यायका लागि लड्ने निधो गरेका छौं ।’
प्रतापले आफूहरुलाई अन्यन्त अन्याय भएको भन्दै कानूनी लडाई थाल्ने निधो गरेका छन् । उनीहरुले जिल्ला अदालत ललितपुरमा चिकित्सक र नर्स गरी ६ जनाबिरुद्ध पाँच करोड रुपैयाँ क्षतिपूर्तिको माग सहित मुद्दा हालेका छन् । त्यही ब्यहोरा उल्लेख गरेर नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् ।
‘चिकित्सकीय लापरवाहीले हाम्रा पति र पिताको अकालमा ज्यान गएको छ । चिकित्सकीय लापरवाहीको कारणले मृत्युवरण गर्ने प्रत्यक पीडितलाई उचित क्षतिपूर्ति भराउनुपर्छ’, उनीहरुले अदालतमा पेश गरेको फिरादमा लेखेका छन्, ‘हामी विरुद्ध भएको अन्यायको कानुनी उपचार र क्षतिपूर्ति पाउनुपर्छ । यो अधिकारको सम्मान र परिपालना भए मात्रै चिकित्सकिय सेवा जिम्मेवारपूर्ण बन्न सक्छ ।’
उनीहरुले उपचार प्रक्रियाका विस्तृत विवरणहरु उल्लेख गर्दै बिरामीले गुनासो गर्दा पनि उचित सम्बोधन नगरेको, चिकित्सकहरुले उपचारका क्रममा तयार पारेको नोट र नर्सिङ नोटहरु बाझिएको अनि अरु चिकित्सकहरुलाई बेलैमा जानकारी नगराएर उपचारमा लापरवाही भएको उल्लेख गरी त्यससम्बन्धी प्रमाणहरु पेश गरेका छन् ।
१९ वर्षअघि अमेरिका पुगेका धादिङका ज्ञानप्रसाद रिमाल विभिन्न व्यवसाय र सामाजिक काममा संलग्न थिए । राजनीति, पर्यटन व्यवसाय र फुटबलमा सक्रिय रहेका उनी अवकाशप्राप्त जीवन जन्मथलोमा बिताउने भनी दुई वर्षअघि नेपाल फर्किएका थिए । अमेरिकामा रहदा उनलाई नेपाल पर्यटन बोर्डले ‘पर्यटन दूत’ समेत नियुक्त गरेको थियो ।
‘बुबाले यो देशमा कुनै न कुनै योगदान गर्नुभएको छ । उहाँले रिटायरमेन्टका लागि पनि नेपाल नै रोज्नुभएको थियो । अब हामीलाई पैसा चाहिएको होइन, पैसाले बुबा फिर्ता आउनुहुन्न भन्ने हामीलाई थाहा छ’, प्रताप भन्छन्, ‘यही देशमा आएर केही गर्छु भन्दा जेलमा राखेर सरह व्यवहार गरेर यातना पाएर उहाँले ज्यान गुमाउनुपर्यो । यस्तो लापरवाही विरुद्ध हामीलाई न्याय चाहियो ।’
अस्पतालकी प्रेस संयोजक सरिता श्रेष्ठले घटनावारे तत्कालका लागि कुनै प्रतिक्रिया दिन नसक्ने बताइन् । ‘अस्पतालको तर्फबाट बरिष्ठ डाक्टरहरु निरन्तर छलफल र परामर्शमा हुनुहुन्छ । उहाँहरुको दृष्टिकोण आउनासाथ हामीले प्रेसलाई खबर गर्नेछौं’ उनले भनिन्, ‘अहिले यत्तिकै प्रतिक्रिया दिनु हतार हुनेछ र त्यसको कुनै अर्थ पनि हुँदैन ।’
प्रतिक्रिया 4