+
+

अमेरिकामा अर्थमन्त्री पौडेलले भने : जलवायु न्यायका लागि संवेदनशील बनौं

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते १७:३५

८ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरूको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा मन्त्री पौडेलले बिहीबार आयोजित उच्चस्तरीय (सदस्य राष्ट्रका मन्त्रीस्तरीय) बैठकमा आफ्नो धारणा राख्दै जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरे ।

उक्त बैठकमा मन्त्री पौडेलले नेपाल विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भएपनि पछिल्लो समय मानव सिर्जित कारणले प्राकृतिक विपत्तिहरूको सामना गर्नु परिरहेको र यसका लागि थप वित्तीय स्रोत व्यवस्थापनको चुनौती रहेको धारणा राखे ।

उनले जलवायु परिवर्तका क्षेत्रमा नेपालको योगदान नगण्य रहेको भएपनि जलवायु परिवर्तनको प्रतिकूल प्रभावको अंश ठूलो रहेको बताए ।

जैविक विविधता संरक्षण गर्न सरकारले पछिल्लो पाँच वर्षमा वार्षिक औसत ५ करोड अमेरिकी डलर खर्च गर्दै आएको उनले बताए ।

उनले नेपाल सरकारको प्रयासमा थप वित्तीय स्रोतको आवश्यकता ‍औंल्याए । यसमा विकास साझेदार र विश्वव्यापी वातावरणीय कोषले सहायता परिचालन प्रणालीमा प्रभाकारिता ल्याउनु पर्ने बताए । यस्ता कोषबाट प्रवाह हुने सहायतालाई राष्ट्रिय बजेट प्रणालीमार्फत प्रवाहित गरी पारदर्शिता र प्रभावकारिता कायम गर्न पनि पौडेलले जोड दिए ।

मन्त्री पौडेलले जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत विश्व समुदायलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?