+

धेरै नबसौं, अब हिंडौं

२०८१ कात्तिक  ९ गते १८:१० २०८१ कात्तिक ९ गते १८:१०
धेरै नबसौं, अब हिंडौं

समय अनुसार मानिसका इच्छा, आकांक्षा अनि आवश्यकता बदलिन्छन्। बसी-बसी खान पाउने आरामको जीवन आजको रोजाइ रहेन, बरू यो अनेक रोगको कारण बन्न थालेको छI असल खाना खानु र हिंड्नु स्वस्थ जीवनका लागि नितान्त आवश्यक भएको विभिन्न अध्ययन र अनुसन्धानका नतिजाले देखाएको छI त्यसैले अफिस होस् वा घरमा बस्न सुविधायुक्त सोफा, कुर्सी, टेबल मात्र होइन, सुरक्षित हिंड्न वा पाइला चाल्न सकिने अवस्था सृजना गर्नु आवश्यक भएको छ ।

सिधा उभिनु अनि हिंड्नु हाम्रो क्रमागत विकासको प्रमुख अंग थियोI यसै क्रममा करिब ६० लाख वर्षअघिदेखि सिधा उठेर हिंड्ने सामर्थ्य हामीले विकास गर्‍यौं। दुईखुट्टे प्राणी भएकाले हाम्रो शरीर बसेर भन्दा सिधा उठ्दा राम्रो काम गर्न सक्छI त्यसैले साधारणतया बालक बोल्नुभन्दा अगाडि हिंड्न थाल्छI हिंड्न सक्ने भएकाले लामो दूरीसम्म यात्रा गर्न सक्ने भयौंI अर्थात् हामी असल पदयात्री भएर अहिलेको अवस्थासम्म आइपुग्योI हिंड्नु साधारण कार्य लागे पनि त्यसका लागि शरीरका धेरै अंग अनि प्रणाली सहभागी हुनुपर्छI मस्तिष्क, मांसपेशी, हड्डी, जोर्नी, रक्त-सञ्चार सबैको समन्वित सहकार्यले मात्र यो सम्भव हुन्छI

यद्यपि हिंड्नु दीर्घ जीवनका लागि अत्यन्त महत्वपूर्ण छ, आजको विश्वमा धेरैजसो काम बसेर गरिन्छI अमेरिकन हार्ट एसोसिएसनका अनुसार सन् १९५० देखि बसेर गर्ने काम ८३ प्रतिशत बढेर गएको छI एक रिपोर्ट अनुसार चार जना मध्ये एक जना (२५ प्रतिशत) वयस्क अमेरिकन करिब ८ घण्टा भन्दा बढी बसेर बिताउँछनI निरन्तरको लामो बसाइले शरीरको वजन बढ्छ, रक्त-सञ्चार कमजोर हुन्छ जसले गर्दा हृदयरोग लाग्ने जोखिम बढ्छI

निष्क्रिय भएर ८ घण्टा बढी बस्नुको जोखिम धुम्रपान वा मोटोपनसँग तुलनायोग्य हुन्छI आज वयस्कहरुमा धुम्रपान घटेको छ तर पनि बसिरहने जीवनशैली विश्वव्यापी बढ्दो छI यस्तो निष्क्रियतालाई नयाँ धुम्रपानको (न्यू स्मोकिंग) उपमा दिने गरिन्छI यसले स्वास्थ्य जीवनमा पर्ने असर यति नकारात्मक छ कि दैनिक लामो समय बसेर बिताउनेहरुको जीवन बाँच्ने आशा करिब दुई वर्ष कम हुन सक्छI यस्तो जीवनशैली यो युगको चरित्र भएकाले यसबाट पूर्ण विमुख हुन नसकिएला तर पनि हिंडडुललाई आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ दीर्घजीवन जिउन अझै सम्भव हुन्छI

हिंड्नुका फाइदा

हिंड्नु यस्तो शारीरिक कर्म हो जसले तन र मन दुवै स्वस्थ्य राख्छI सबैले गर्न सकिने, कुनै विशेष उपकरण नचाहिने, तर कठिन जीर्ण रोगहरु (क्यान्सर, मधुमेह, हृदयरोग आदि) लाग्नबाट बचाउन सक्ने भएकाले हिंडडुलको महत्व सोचेभन्दा बढी पाइएको छI

सामाजिक सम्बन्ध

हिंड्नु भनेको बाहिरी संसारको सम्पर्कमा आउनु होI नयाँ कुरा देख्ने अनि नयाँ मानिस भेट्ने मौका हिंड्न थालेपछि पाइन्छI हिंडाइको क्रममा धेरै जनासँग आमने-सामने हुने सम्भावना हुन्छI आफ्नो गाउँ-ठाउँको यथार्थ अवस्था बुझ्न हिंड्न जरूरी हुन्छI यसका लागि नेता, गन्यमान्यहरु पदयात्रामा निस्कने पुरानो चलन छI तर आज यस्ता क्रियाकलाप विरलै हुने भएकाले सम्बन्धहरु (व्यक्तिगत, सामाजिक अनि राजनीतिक) कमजोर हुँदै गएका छन्I बढ्दो सामाजिक पृथकीकरण (सोसियल आइसोलेसन) र एक्लोपनको महामारी कम गर्न पनि हिंड्ने संस्कृतिलाई बढाउनुको विकल्प छैनI यसका लागि सफा, सुरक्षित हिंड्ने बाटो, पार्क आदिको निर्माणले प्राथमिकता पाउनुपर्छI

सँगै हिंड्नुको महत्व विशेष हुन्छI सँगै बसेर बातचित धेरै जनासँग गरिन्छ तर सँगै हिंड्ने मौका विरलै जुर्छI केही परसम्म सँगै हिंडेर जाँदा त्यसले सम्बन्धमा न्यानोपन थप्छ र भावनात्मक सम्बन्ध सुदृढ हुन्छI सँगै हिंडेको क्षणहरु सम्झनामा बस्दछन्I त्यसलाई कवि, कलाकारहरु कलात्मक भावमा प्रकट गर्छन्I

हिंड्नु यस्तो शारीरिक अभ्यास हो जो जुनसुकै उमेर वा वर्गले सँगै गर्न सक्छI हजुर र नाति पुस्ता सँगै मिलेर हिंड्ने हो भने त्यो अविस्मरणीय बन्न सक्छI त्यस्तो संयुक्त हिंडाइले शरीर र मानवीय सम्बन्ध दुवैलाई बलियो बनाउँछI त्यसैले छोटो किन नहोस् प्रियजनसँग हिंड्ने मौका कसैको नचुकोस्I

स्वास्थ्य लाभ 

विश्वमा बढ्दो पाका उमेरका मानिसको संख्या, अस्वस्थकर खानपिन अनि बसिरहने जीवनशैलीका कारण नसर्ने रोगको महामारी व्याप्त हुँदैछI तर सामान्य दिनको ३० मिनेट हिंडडुल गर्ने हो भने पनि हृदयरोग, मधुमेह, स्मरण सम्बन्धी रोगका कारण मर्ने जोखिम घटेर जान्छI हिंड्दा शरीरले इन्सुलिन राम्ररी प्रयोग गर्न सक्छI जब हिंड्न थालिन्छ, रक्त-सञ्चार राम्रो हुन्छI शरीरका मांसपेशीहरूमा ग्लुकोजको माग बढ्छ र त्यसका लागि इन्सुलिन बढी क्रियाशील बन्न सक्छI त्यसैले खाना खाएपछि ५ मिनेटको हिंडडुलले पनि नसोचेको फाइदा दिन्छI रगतमा ग्लुकोजको स्तर ह्वात्तै बढ्न दिंदैनI

हिंड्दा हाम्रा आँखा चनाखो हुने अनि रक्त-सञ्चार बढ्ने भएकाले हिंड्नेको आँखाको स्वास्थ्य बसिरहनेको भन्दा राम्रो हुने सम्भावना रहन्छI कम उमेरमै मोतियाबिन्दु हुने जोखिम कम गर्न पनि हिंड्नु वा अरु कुनै व्यायाम गर्नु लाभदायक हुनसक्छI

मानसिक स्वास्थ्य

हामीले अनुभव गरेको कुरा हो कि लामो पदयात्रापछि शरीर थाक्छ तर त्यसले मन चंगा बनाउँछI यसले हाम्रो मस्तिष्कका कोषहरुलाई स्वस्थ अनि तन्दुरुस्त बनाउन मद्दत गर्छI हिंड्दा हाम्रो मनोदशा सकारात्मक भएर जान्छ किनकि त्यसबेला निउरोट्रान्समिटरहरु (जस्तै इन्डोरफिन, सेरोटोनिन) को स्तर शरीरभित्र बढ्छI

आधुनिक चिकित्सा विज्ञानका महान् दार्शनिक हिप्पोक्रेटको सल्लाह छ कि जब तिमी खराब मनोदशामा छौ भने हिंड्न जाऊ, अझै उस्तै छौ भने फेरि हिंडI त्यसैले तनावमा हुँदा एक्लै कोठामा बसेर चिन्तित हुनुभन्दा एकैछिन बाहिर निस्केर हिंड्ने हो भने त्यसले मन शान्त गराउँछ। जब हिंडडुल गर्छौं, वरिपरिको वातावरणसँग हामी जोडिन्छौंI अर्थात् हाम्रो ध्यान नवीन दृश्य वा घटनासँग जोडिन थाल्छI त्यसमाथि सूर्यको किरण, स्वच्छ हावा अनि हरियालीसँग रमाउँदै हिंड्न पाउने हो भने हाम्रो मनोदशा बढी सकारात्मक बन्छI हिंड्नुको लाभ यतिमै सकिंदैन, अनेक छन्I यहाँसम्म कि आफू सृजनात्मक हुन पनि हिंड्नु आवश्यक हुन्छI कैयन् नवीन विचार वा सृजनात्मक प्रतिभा हिंडेको बेला मस्तिष्कमा आउने गर्छन्I

कति हिंड्ने !

जसरी लामो समय काम गरेपछि थकान मेट्न केही क्षण आराम (ब्रेक) चाहिन्छ, लामो आरामलाई पनि विश्राम (ब्रेक) दिन उठेर हिंड्न जरूरी हुन्छI जहाँसम्म कति हिंड्ने वा पाइला चाल्ने सन्दर्भ छ, दैनिक ३ माइल वा १० हजार पटक हाम्रा पाइला चलेका हुन्, कम्तीमा त्यो ५ हजारभन्दा बढी होस्I यो एकै पटक गर्न नसके विभिन्न चरणमा पनि पूरा गर्न सकिन्छI प्रत्येक २ घन्टामा ५ मिनेट हिंड्न सकिन्छI कुनै बेला बाहिर हिंड्न असमर्थ भए घरभित्र, आँगन, वा तल-माथि हिंडेर पनि शरीर चलायमान राख्न सकिन्छI बसाइ कम गर्न उठेर फोनमा बोल्न सकिन्छI अवस्था अनुसार उठ्ने र हिंड्ने यस्ता उपाय अनेक हुन् सक्छन्I कुनै कारणवश लामो बस्नु नै पर्‍यो भने पनि आरामदायक सोफा वा काउचमा होइन, बरु भुईंमा घुँडा मारेर, पछाडि ढाड भित्तामा अडेस लगाएर बस्न सकिन्छI केही गर्न नसके, बेला-बेलामा ठिंग उभिऔं तर निरन्तर बसेको-बसेकै नगरौंI

अन्त्यमा, यो बुझौं कि घन्टौं निरन्तर बसिरहनु भनेको अकाल मृत्युको जोखिम बढाउनु हो भने हिंडडुल गर्नु भनेको जीवन जोगाउनु । यसलाई अहिलेको बढ्दो शहरिया जीवनशैलीमा बाँच्नेहरु सबैले राम्ररी बुझ्न जरूरी भएको छI त्यसैले अब डाक्टरले बिरामीलाई औषधि मात्र सिफारिस गर्ने होइन, साथमा दैनीक कति हिंड्ने त्यो पनि सल्लाह दिन आवश्यक हुन्छI वास्तवमा, शरीर सक्रिय हुँदा जीवन लामो बाँच्ने मात्र होइन, त्यसले व्यक्तिमा खुसी पनि थप्छI यसको प्रमाण ब्लुजोनलाई लिन सकिन्छ, जहाँ मानिस सक्रिय भएर अरू ठाउँभन्दा लामो जीवन खुसीसँग बिताउँछन्I त्यसैले धेरै नबसौं, अब उठौं अनि अलिक परसम्म हिंडौं ।

(प्रसाईं अनुसन्धाता हुन् ।)

स्वास्थ्य हिंडडुल
लेखक
जीवनकुमार प्रसाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय