
जलवायु परिवर्तन अहिले विश्वको जल्दोबल्दो समस्या हो। यसबाट हामी लगायत हाम्रा भावी सन्तति पीडित हुने कुरा निश्चित छ।
जलवायु परिवर्तनको असर सामाजिक, आर्थिक, भौतिक, शारीरिक मात्र नभएर मानसिक पनि हुने कुरा सर्वविदितै छ। उदाहरणको लागि डिप्रेसन, आक्रामक र आत्महत्यामा वृद्धि हुनु आदि। तीमध्ये इको-एन्जाइटी अर्थात् पर्यावरण चिन्ता एक हो जुन धेरै मानिसमा हुने आकलन गरिएको छ।
सन् २००८ देखि विकसित देशहरूमा जलवायु परिवर्तनको कारण उत्पन्न भएका मानसिक समस्याको बारेमा छलफल र अनुसन्धान सुरु भएको थियो। सन् २०२१ मा १० देशका १० हजार युवासँग गरेको सर्वेक्षणले लगभग ६० प्रतिशत युवा जलवायु परिवर्तनको बारेमा धेरै वा अत्यन्त चिन्तित भएको पत्ता लागेको थियो। यद्यपि नेपाल लगायत कतिपय देशहरूमा जलवायु परिवर्तनको कारण भएका मानसिक समस्याको बारेमा अध्ययन–अनुसन्धान भएका छैनन् ।
पर्यावरणीय चिन्ता भनेको जलवायु परिवर्तनका कारण उत्पन्न हुने मानसिक समस्या हो जसको कारण मानिसहरू आफ्नो भविष्यप्रति चिन्तित भइरहन्छन्। इको-एन्जाइटीलाई विभिन्न नामबाट सम्बोधन गरिए पनि यसको सार वातावरणीय परिवर्तनसँग सम्बन्धित मानसिक समस्या भनेर बुझ्दा अत्युक्ति नहोला।
जलवायु परिवर्तनको बारेमा चिन्तित हुनु मनासिव हो भन्ने तर्क पनि भेटिन्छ। किनभने जब व्यक्ति जलवायु परिवर्तनको असर र यसले भविष्यमा निम्त्याउन सक्ने परिणामको बारेमा जागरुक हुन्छ र महसुस गर्छ तब मात्र यसको असर न्यूनीकरण गर्न प्रयास गर्न सक्छ। यस अर्थमा सबै व्यक्तिमा जलवायु परिवर्तनबारे ज्ञान र न्यूनीकरणको लागि सचेत हुनु आवश्यक छ।
यद्यपि उक्त चिन्ता लामो समयसम्म रहनु र व्यक्तिको दैनिक जीवन र उसले गर्नुपर्ने क्रियाकलापमा वाधा उत्पन्न हुन्छ भने उक्त चिन्ता मानसिक समस्या बन्न जान्छ जसलाई इको-एन्जाइटी भनिन्छ।
इको-एन्जाइटी विभिन्न उमेर, जातजाति, पेशा, समुदायमा भिन्न–भिन्न स्वरूपले देखिन सक्छ। जुन सामान्यदेखि जटिल पनि हुन सक्छ। जस्तै किसान अर्थात् कृषि पेशा गर्ने मानिसलाई समयमा पानी नपर्दा उत्पादन कम हुने डर, कहिलेकाहीं धेरै पानी परेर फसल नाश हुने डर त कहिलेकाहीं प्राकृतिक प्रकोपको कारण उब्जनीमा ह्रास हुने आदि।
कलकारखानामा काम गर्नेको हकमा आफूले हरित ग्याँस उत्सर्जन गर्न सहयोग पुर्याएकोमा लज्जा, हीनताबोध र अपराधबोधको कारण मानसिक समस्या उत्पन्न हुनसक्छ। इको-एन्जाइटी आदिवासी र जनजातिमा धेरै संख्यामा हुने कुरा विभिन्न अध्ययन र अनुसन्धानले देखाएका छन्।
जलवायुमा आएको परिवर्तनसँगै तापक्रममा वृद्धि, खडेरी, अतिवृष्टि, बाढी-पहिरो आदि प्रकोपहरू पनि बढ्ने हुनाले यसको प्रत्यक्ष र अप्रत्यक्ष असर सम्बन्धित सबै प्रजातिहरूमा पर्दछ। यस्ता प्रकोपबाट कृषिमा आधारित समुदायको जीवन र मानसिक स्वास्थ्यमा अन्य समुदायभन्दा बढी प्रतिकूल प्रभाव पर्न सक्छ।
त्यसैगरी इको-एन्जाइटी युवा पिंढीमा अधिक मात्रामा देखिन सक्छ। किनकि स्वभावैले धैर्य र स्थिरता कम हुने उमेर समूहका युवा पुस्ताहरू इको-एन्जाइटीको कारण भविष्यप्रति अझ निराशावादी हुने, आफूले गर्न सक्ने र क्षमता अनुसारको क्रियाकलाप पनि नगर्ने, निष्क्रिय भएर बस्ने र आफू र आफ्नो परिवारको बारेमा अत्यधिक चिन्तित हुने आदि हुन सक्छ।
जसले व्यक्ति, परिवार, समुदाय र सिंगो देशमा नै प्रतिकूल प्रभाव पार्ने देखिन्छ। यति मात्र नभएर अहिलेका युवा र भावी पिंढीहरूले आफ्ना पुर्खाहरूलाई अपमानजनक र खेदको दृष्टिकोणले हर्ने सम्भावना पनि प्रबल रहन्छ।
क्रोध वा निराशा पैदा हुनु, जलवायु परिवर्तनलाई स्वीकार गरेर समयमा नै न्यूनीकरणको लागि पहल नगरेकोमा पुरानो पुस्ता प्रति विरोधाभासपूर्ण सोच बनाउनु, पृथ्वी र मानवको अस्तित्व प्रति संकोच प्रकट गर्नु यसका प्रमुख लक्षण हुन्। त्यस्तै आफ्नो कार्यबाट कार्बन उत्सर्जन भएकोमा ग्लानि र अपराधबोध गर्नु, जलवायु परिवर्तनका प्रभावहरू अनुभव गरेपछि तनाव पैदा हुनु, अवसाद र चिन्ताको भावना उत्पन्न हुनु जस्ता लक्षण पनि देखिन्छन् ।
त्यसैगरी, वातावरण वा वन्यजन्तुको आवादीको क्षतिमा शोक र उदासीन हुनु, जलवायु बारे निरन्तर नकारात्मक विचार मनमा आउनु लगायत इको-एन्जाइटीका प्रमुख लक्षण हुन्।
साथै, व्यक्तिको दैनिक दिनचर्यामा पनि प्रभाव पर्ने जस्तै राम्रोसँग सुत्न नसक्नु, शारीरिक बिमारी हुनु र आफूले गरेको काममा ध्यान दिन नसक्नु आदि रहेका छन्। जसले गर्दा पारिवारिक सम्बन्ध बिग्रिंदै जाने सम्भावना पनि बढ्दै जान्छ।
इको-एन्जाइटी भएमा के गर्ने ?
यदि आफू र परिवारका कुनै सदस्यलाई इको-एन्जाइटी भएको थाहा भएमा निम्नलिखित उपाय अपनाउन सकिन्छ :
- साना र व्यक्तिगत परिवर्तनहरू अवलम्बन गर्ने गराउने – जस्तै फोहोर घटाउने, पानीको संरक्षण गर्ने, नवीकरणीय ऊर्जाको प्रयोग गर्ने, विद्युतीय उपकरणको प्रयोग कम गर्ने आदि।
- पर्यावरण अनुकूल जीवनशैली अपनाउनाले व्यक्तिको भावना र दृष्टिकोणमा परिवर्तन आउनुको साथै जलवायु-अनुकूल व्यवहारले अरूलाई पनि उत्प्रेरित गर्न मद्दत गर्छ।
- आफ्नो व्यक्तिगत र पारिवारिक तवरमा हरित ग्याँस उत्सर्जन गणना गर्नाले यसको प्रभाव कम गर्ने तरिकाहरूबारे सचेत हुन मद्दत गर्छ।
- जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने क्षेत्रमा काम गर्ने सामुदायिक संस्थाहरूसँग सम्पर्क गर्नाले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने नीतिगत प्रयासहरूमा संलग्न हुन मद्दत गर्न सक्छ।
- कुनै पनि घटनाप्रति अति संवेदनशील व्यक्ति भएको खण्डमा कुनै पनि जानकारी, तथ्य अथवा मिडिया प्रयोग गर्दा प्राकृतिक विपत्ति, दुर्घटना जस्ता सामग्रीहरू हेर्ने सुन्ने आदि कम गर्न सकिन्छ।
- मानसिक स्वास्थ्यकर्मी वा परामर्शदातासँग सहयोग लिने या उपचारमा जाने, ध्यान गर्ने र प्रकृतिमा समय बिताउने आदि।
- कहिलेकाहीं इको-एन्जाइटीलाई अवसरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। जस्तै हरित नीति, दिगो विकास र जलवायु न्यायका लागि वकालत गर्न आफैं पहल गर्ने।
जलवायु परिवर्तनको असर मानवीय चिन्तामा मात्र सीमित हुन्छ भन्ने चाहिं छैन। यसले डिप्रेसन लगायत अन्य जटिल मानसिक समस्या पनि निम्त्याउन सक्छ। त्यसैले अहिले बढ्दै गएका अन्य मानसिक समस्याका कारणमध्ये जलवायु परिवर्तन पनि एक हुने भएकोले सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु पनि आवश्यक छ।
पर्यावरणीय चिन्ता विकसित देशहरूको जनसंख्या वृद्धिदर घट्नुको अर्को कारण पनि बन्न सक्छ। जसरी अहिले ८ अर्ब जनसंख्यालाई पृथ्वीले धान्न मुस्किल परेको अवस्थामा सन् २१०० मा ११ अर्ब पुग्ने भनिएको जनसंख्यालाई धान्न अहिले भन्दा कैयौं गुणा बढी स्रोत र साधन चाहिने कुरा निश्चित छ।
यो आकलनले अहिलेका युवा पुस्तामा सन्तान उत्पादनप्रति वितृष्णा जगाउनु पनि पर्यावरणीय चिन्ताको एउटा उदाहरण हुन सक्छ।
पर्यावरणीय चिन्ता एक अप्राकृतिक संकटको लागि एक प्राकृतिक प्रतिक्रिया हो। जब हामी सामूहिक रूपमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न लागि पर्छौं, तब व्यक्तिगत इको-एन्जाइटी हुने सम्भावना पनि कम हुन्छ।
यसका साथै नीतिनिर्माण तहमा पनि अबका पुस्ताहरूमा इको-एन्जाइटी जस्ता समस्या आउन नदिन र कम गर्न दूरदर्शी भएर सोच्नुपर्ने देखिन्छ। र, भएका समस्याहरूको रोकथामको लागि मानव संसाधन अर्थात् मनोविद् र परामर्शकर्ताहरू पनि तयार गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया 4