काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगरको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको स्तरोन्नति गर्न सघाउने बताएका छन् ।
निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको उक्त उपचार केन्द्रलाई स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने उनको भनाइ छ । यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेको छ ।
अब कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपछि केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने बैठकमा मन्त्री पौडेलले बताए ।
‘सातै प्रदेशमा मुटुरोगको उपचारका लागि हामीले कार्यक्रम थालिसकेका छौं । कोशी प्रदेशमा स्थापित केन्द्रलाई सबल बनाएपछि प्रदेशलाई हस्तान्तरण गरिनेछ,’ उनले भने ।
गत महिना विराटनगरमा केन्द्रको निरीक्षण गरेका मन्त्री पौडेलले प्रदेश मातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघ मातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहितका पूर्वाधार तयार पार्ने घोषणा गरेका थिए ।
कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए । प्रदेशबाट निर्णय भएर आएलगत्तै मन्त्रालयले स्तरोन्नतिको काम थाल्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया 4