+
+

काठमाडौं प्रदर्शनमा रास्वपाले उठायो सहकारी र सुशासनको एजेन्डा

निर्धारित स्थानमा विरोध गर्न नपाएकोमा आक्रोशित रास्वपा नेताहरुले सरकारले सभापति रवि लामिछाने र पार्टी वरुद्ध प्रतिशोध साधेको दाबी गरे ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ कात्तिक १३ गते १७:२१

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा विरोधमा ओर्लिएको छ ।

२ कात्तिकमा प्रहरीले लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्‍याएपछि रास्वपाका नेता कार्यकर्ता त्यहीँ पुगेर प्रदर्शनमा उत्रिए । सभापतिलाई दोस्रोपटक म्याद थप गरेपछि रास्वपा काठमाडौं फर्कियो ।

माइतीघरमा दुई दिन र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेटमा एक दिन विरोध गरेपछि रास्वपाले बालुवाटारलाई प्रदर्शनस्थलका रुपमा रोज्यो ।

सभापति लामिछाने राजनीतिक प्रतिशोधवश पक्राउ परेको दाबी गर्दै आएको रास्वपाले प्रदर्शनका लागि राज्यको कार्यकारी प्रमुखको निवासबाहिर पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओली निवासबाट दक्षिणतर्फ रहेको नेपाल हाउस रेष्टुरेष्ट अघि प्रदर्शन गर्ने रास्वपा योजना थियो ।

मंगलबार मध्यान्ह १२ बजेबाट प्रदर्शन गर्ने गरी नेता कार्यकर्ता नेपाल हाउस वरपर जम्मा हुँदै गर्दा प्रहरीले रास्वपाका नेता कार्यकर्तालाई पक्राउ गर्न थाल्यो । कार्यवाहक सहप्रवक्ता मनिष झाका अनुसार १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरी नियन्त्रणमा लिएकालाई प्रहरी वृत्त दरबारमार्ग र मालीगाउँमा राखिएको छ । विरोध प्रदर्शनपछि रास्वपाले विज्ञप्ति निकालेर प्रहरीले बल प्रयोग गरेको जनाएको छ ।

‘प्रहरीहरुको कार्य नेपालको संविधान, कानुन लगायत अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको छ’, विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौं ।’

पक्राउ परेका रास्वपाका नेता कार्यकर्तालाई स्वास्थ्य परीक्षण गरी रिहा गरिने जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी गराए ।

यसअघि राजनीतिक प्रतिशोधका विरुद्ध भन्दै आन्दोलन गर्दै आएको रास्वपाले आजको सडक प्रदर्शनलाई अधिनायकवाद विरुद्ध भएको वृहत प्रदर्शन भनेको छ ।

उपसभापति डा.स्वर्णिम वाग्लेका अनुसार राजनीतिक प्रतिशोध, सहकारी बचत अपचलन, भ्रष्टाचार, युवा बेरोजगारी र संविधानको पुनर्लेखन लगायतका मुद्दाका लागि मंगलबारको प्रदर्शन राखिएको हो । प्रदर्शन हुनुअघि नै प्रहरीले रास्वपाका नेता कार्यकर्ता पक्राउ गरेपछि विरोध सभामा नेताहरुले उठाउने अर्को विषय पनि थपियो ।

प्रहरीले रास्वपाले निर्धारित गरेको स्थानमा प्रदर्शन गर्न दिएन । भाटभटेनी मन्दिर नजिक पिपलबोटबाट रास्वपा कार्यकर्तालाई अघि बढ्न दिएन । प्रदर्शनकारीलाई बालुवाटारतर्फ अघि बढ्न नदिन ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

प्रहरीले रोकेकै स्थानमा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गर्न थाले । रास्वपाका कार्यकर्ताहरु देशको झण्डा बोकेर विरोधमा उत्रिएका थिए । पार्टीको झण्डा लिएर प्रदर्शन नगर्ने निर्देशन अनुसार राष्ट्रिय झण्डा सहित कार्यकर्ता सहभागी बने ।

विरोध प्रदर्शनमा बोल्ने सबै नेताले सत्ताले आफ्नो सभापति विरुद्ध प्रतिशोध सांधेको बताए । सहकारी प्रकरणमा कांग्रेस सभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नगर्नु र आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गर्नु सत्ताको प्रतिशोध भएको उपसभापति वाग्लेले बताए । वाग्लेले सहकारी प्रकरणमा सभापति लामिछानेले क्लिन चिट पाएको पुनः दाबी गरे ।

सभापति पक्राउ परेसँगै सडकमा ओर्लिएको रास्वपाले सहकारी पीडितको मुद्दालाई छोडेको छैन । सहकारी पीडितलाई वास्तविक न्याय दिने शक्ति रास्वपा भएको नेताहरुले मंगलबार पनि दाबी गरे । उपसभापति वाग्लेले वर्तमान सत्ताधारी ८८ अर्ब अपचलन गर्नेतर्फ नलागेर अंशमा लागेको जिकिर गरे ।

वाग्लेले भने, ‘४०० भागको एक भागमा यिनीहरु यसरी खनिएका छन् । ३९९ भागलाई यिनीहरु छुन चाहँदैनन् । त्यो ३९९ भागमा यिनीहरुकै पैसा छ । यिनीहरुको संगठन छ ।’

अर्का उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारी पीडितको वचत फिर्ता गर्ने आधार रास्वपाले दिने दाबी गरे । संसदीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरे अनुसार सहकारी प्राधिकरण गठन गर्न माग गरे ।

सभापति लामिछानेलाई राज्यले नियतवश झुटो मुद्दा लगाएको दाबी रास्वपाका नेताहरुले गर्दै आएका छन् । केन्द्रीय सदस्य एवं सांसद सोविता गौतमले सभापति लामिछाने माथि झुटो मुद्दा लगाएको दाबी गर्दै निशर्त रिहा गर्न माग गरिन् ।

प्रहरीले रास्वपाका कार्यकर्ता पक्राउ गरेपछि आक्रोशित गौतमले सरकार राणा कालिन अवस्थामा फर्कन लागेको आरोप लगाइन् । उनले भनिन्‘ यो तानाशाही प्रवृत्ति बन्द गर्नुपर्छ । विधिको शासन भन्दा सरकार माथि हुन्छ ? खबरदार सरकार, न्याय माथि खेलवाड नगर ।’

शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकको अधिकार उपयोग गर्न सत्ताले नदिएको नेताहरुको टिप्पणी थियो । रास्वपालाई थकाउन, तर्साउन, कमजोर बनाउन सरकार लागेपनि त्यसको प्रतिकार गरिने सांसद सुमना श्रेष्ठले बताइन् ।

सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठले कांग्रेस महामन्त्री गगन थापाको नाम नलिकन उनी लक्षित टिप्पणी गरेकी थिइन् । सोमबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस उपसभापति गुरुङ र सार्वजनिक लेखा समिति सभापति पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसतर्फ लक्षित गर्दै श्रेष्ठले पार्टी निकटको संगठनले गरेको कार्यक्रममा गएर सुशासनको मुद्धा उठाउनु ढोंगी चरित्र भएको बताइन् । उनले भनिन्,‘यो ढोंगी चरित्र अब चल्दैन । जनतालाई कतिबेरसम्म मूर्ख बनाउने ? कर्मचारीले बनाएको मञ्चबाट सुशासनको भाषण दिने ?’

रास्वपाले प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ । कार्यवाहक महामन्त्री बुर्लाकोटीले मंगलबार बस्ने सचिवालय बैठकले अर्को चरणको आन्दोलनको घोषणा गर्ने जानकारी गराए । ‘निरन्तर सडक प्रदर्शन गर्नुपर्ने साथीहरुको सुझाव छ । आज बस्ने सचिवालय बैठकले विरोध कार्यक्रम तय गर्छ,’ बुर्लाकोटीले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?