+
+

मेनुका पौडेलको स्वरमा गीतकार मनोज खड्काको ‘तेजस्वी अप्सरा’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते १६:४१

काठमाडौं । गीतकार मनोज खड्काले नयाँ गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक गरेका छन् । आफ्नो सबैभन्दा आत्मीय व्यक्ति गुमाउँदाको भावना उनले गीतमा उनेका छन् । गीतमा मेनुका पौडेलको स्वर र कल्याण सिंहको संगीत छ । एरेन्ज दीक्षित पौडेलले गरेका हुन् ।

टाढा छौ तर साथमा हुन्छौ सदैव सहारा

टाढा छौ तर रातमा बन्छौ मझेरीको तारा

तेजस्वी अप्सरा

यी शब्दहरुले भरिएको गीत बिहीबार काठमाडौंमा आयोजित समारोहमा वरिष्ठ गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले विमोचन गरे । समारोहमा गीतको लिरिकल भिडियो प्रदर्शन गरिएको थियो । भिडियोमा गायिका मेनुका पौडेल, संगीतकार कल्याण सिंह, गीतकार खड्का लगायत फिचर्ड छन् ।

कार्यक्रममा गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर यो गीत रचना गरेको बताए । ‘यो गीत पिस अफ हार्ट हो मेरो लागि । मेरी आमाको निधनको पीडालाई गीतमा उतार्ने जमर्को गरेको हुँ,’ उनले भने, ‘गीतको उद्देश्य पीडालाई पोख्ने त हुँदै हो, सँगै स्ट्रेन्थ पनि बढाउनुपर्छ भन्ने हो । भौतिक रुपमा हामीबाट टाढा भएका आत्मीय व्यक्तिको प्रेरणालाई ऊर्जा बनाएर अघि बढ्नुपर्छ भन्ने हो ।’

उनले आफूले गीत लेख्दा पीडा र ऊर्जालाई सन्तुलनमा राख्ने कोसिस गर्ने बताए ।

कार्यक्रममा वरिष्ठ गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै थप सिर्जनाको अपेक्षा गरेको बताए । ‘यस्तो विधा हो जसको सम्बन्ध सबै खालका मान्छेसँग हुनुपर्छ । गीत सबैले बुझ्ने हुनुपर्छ, सरल हुनुपर्छ,’ रिजालले भने, ‘गीतको सम्बन्ध आम मानिससँग हुन्छ । अझै धेरै गीत उहाँ (मनोज खड्का)का पनि आउनुपर्छ ।’

वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले ‘तेजस्वी अप्सरा’ शब्द, संगीत र स्वरको संगमले सिंगारिएको गीत रहेको बताए । वरिष्ठ गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गरे । कार्यक्रमलाई नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय नियोग यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । करिब एक दर्जन हाराहारीमा गीत रेकर्ड गराइसकेका गीतकार खड्काको पछिल्लो गीत रामकृष्ण ढकालको स्वरमा ‘गाउँघरले सोध्यो’ सार्वजनिक भएको थियो ।

‘तेजस्वी अप्सरा’ ‘मनोज खड्का अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?