
२० कात्तिक, काठमाडौं । आवेदन बन्द हुँदा समता घरेलु लघुवित्तको एफपीओमा ६०.७ गुणा बढी आवेदन परेको छ । यस कम्पनीको एफपीओमा अनलाइन प्रणालीबाट १४ लाख ३२ हजार ४२० जनाले आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।
सीडीएससीका अनुसार ती आवेदकले २ करोड १३ लाख ८ हजार ५७० कित्ता आवेदन माग गरेका छन् । ती आवेदकको २ अर्ब १३ करोड रुपैयाँ बराबर रकम बैंक खातामा रोक्का भएको छ ।
कम्पनीले भने जम्मा ३ लाख ५० हजार ९०४ कित्ता बिक्रीका लागि आवेदन माग गरेको हो । हरेकलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने प्रावधान रहेकाले कुल ३५ हजार ९० जनाले मात्रै सेयर पाउने छन् । यीमध्ये ४ जनाले ११ कित्ताका दरले पाउने छन् भने बाँकीले १० कित्ताका दरले पाउने छन् ।
कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन खुलेको थियो । अंकित मूल्य १०० मै कम्पनीले एफपीओ खुलाएको हो । एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । यस कम्पनीको सर्वसाधारणमा जारी सेयर २६. २० प्रतिशत मात्रै छ ।
एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।
प्रतिक्रिया 4