+

उन्मुक्त चन्द‍ले लुम्बिनी लायन्सबाट खेल्ने

२०८१ कात्तिक  २१ गते १३:२७ २०८१ कात्तिक २१ गते १३:२७
उन्मुक्त चन्द‍ले लुम्बिनी लायन्सबाट खेल्ने

२१ कात्तिक, काठमाडौं । भारतबाट यू-१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

भारतलाई सन् २०१२ मा आईसीसी यू-१९ विश्वकप जिताउँदा कप्तान उन्मुक्तलाई लुम्बिनी लायन्सले एनपीएलका लागि अनुबन्ध गरेको हो ।

भारतको ए टोलीबाट समेत खेलिसकेका उन्मुक्तले भारतमा पर्याप्त अवसर नपाएपछि भारतीय क्रिकेटबाट सन्यास लिंदै अमेरिका लागेका थिए ।

उनकै कप्तानीमा भारतले घरेलु टोली अष्ट्रेलियालाई फाइनलमा ६ विकेटले स्तब्ध पार्दै सन् चन्दको २०१२ मा यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा उनले शतकसमेत प्रहार गरेका थिए ।

उन्मुक्त चन्दले दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका थिए ।

उन्मुक्त लुम्बिनीले एनपीएलका लागि अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले अष्ट्रेलियन अलराउण्डर बेन कटिङ र इंग्ल्याण्डका टम रोजर्सलाई अनुबन्ध गरिसकेको छ ।

उन्मुक्तले ६७ फस्ट क्लास खेलमा ३ हजार ३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो । उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै १२० लिस्ट ए क्रिकेटमा उनले ४ हजार ५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतक समेत समावेश छन् । टी-२० मा उनले ९० खेलमा १ हजार ७९५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ ।

लुम्बिनी लायन्समा अनुबन्ध भएपछि उत्साहित हुँदै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपुर योगदान दिन चाहन्छु ।’

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौं । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौं ।’

उन्मुक्त चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पुर्‍याउने विश्वास लुम्बिनी लायन्सको रहेको छ ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल लुम्बिनी लायन्सको मार्की खेलाडी हुन् प्रशिक्षकमा नन्दन फाडनिस छन् ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म हुनेछ । जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन् ।

उन्मुक्त चन्द एनपीएल नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय