
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीको लागि ‘छक्कापञ्जा ५’लाई दुबै हातमा लड्डु भन्न सकिन्छ । लड्डु यसअर्थमा कि दशक लामो करिअरमा उनी अभिनित यो फिल्म बक्स अफिसमा सुपरहिट मात्र भएन अभिनयको प्रशंसा पनि भयो ।
जे सोचेर ‘छक्कापञ्जा’ समूहले उनलाई प्रस्ताव राख्यो, अपेक्षामा उनी उत्तिर्ण भएकी छन् । एक किसिमले उनका लागि ‘परीक्षा’ पनि थियो । जसलाई वर्षाको अभिनय करिअरमा ‘टर्निङ प्वाइन्ट’ मान्न सकिन्छ ।
यतिबेला वर्षाको करिअरमा ‘छक्कापञ्जा ५’ हिट फिल्म साबित भएको छ । २० करोड ग्रस कमाइ गरिरहेको फिल्म अहिले पनि प्रदर्शनरत छ । शीर्ष चरित्रमा जमेर कथालाई काँध हाल्नुपर्ने चुनौतिमा उनी सफल भएकी छन् ।
लगातारको बक्सअफिस दबाबबीच वर्षालाई यतिबेला ठूलो राहत मिलेको छ । यतिबेला प्रदर्शनको चौंथो साता पुरा भएको छ र उनी यतिबेला व्यवसायिक र अभिनय सन्तुष्टिको श्वास फेरिरहेकी छन् ।
एक किसिमले भन्दा वर्षाको लागि ‘छक्कापञ्जा’को पाँचौ श्रृंखला अभिनयभन्दा धेरै घरेलु फिल्मको ‘इको सिस्टम’ बुझ्ने मौका थियो । यसमा उनले फिल्म चलाउन हुने सकसलाई नजिकबाट बुझिन् ।
‘मैले यसअघि काम गरेका फिल्म यो लेभलमा पुगेका थिएनन । मेरो पर्फमेन्सलाई धेरैले नोटिस गर्नुभयो । पर्सनल मेसेज धेरै आएका छन्’ हालैको एक सप्ताहन्त वर्षा अनलाइनखबरसँग सुनिइन्, ‘दर्शकले मेसेज गरेर अप्रिसिएट गर्नुभएको छ । दैनिक प्रतिक्रिया दिनुभएको छ ।’
‘३ पटक आफैले फिल्म हेरेँ । आफैले अभिनय गरको फिल्म हेर्दा कमी कमजोरी थाहा हुने रहेछ’ भन्छिन्, ‘अझै बेटर गरुँ भन्ने महसुस भएको छ । कमीकमजोरी सुधार्ने ठाउँ धेरै भेटेकी छु ।’ यस फिल्मबाट आफूलाई अन्य निर्माताले हेर्ने दृष्टिकोण बदलिएको वर्षाको बुझाइ छ ।
‘यसले पर्फमेन्स गर्न सक्ने रहिछे भन्नु ठान्नुहुन्छ होला । अबका मेकरले मैले काम गर्न सक्छु भन्ने मनस्थिती बनाउनु हुन्छजस्तो लाग्छ’ उनी भन्छिन् ।
बक्सअफिसको दबाब थिएन
हरेक कलाकारलाई फिल्म चल्छ वा चल्दैन भन्ने कुराको दबाब हुन्छ । जसले गर्दा कलाकारको मनस्थितीमा असर पर्ने सम्भावना हुन्छ । तर, ‘छक्कापञ्जा’को मामिलामा वर्षामा यो शंकाको दबाब रहेन । जुन दबाब उनले अघिल्ला धेरै फिल्ममा भोगिसकिन् ।
‘चल्दै नचल्ने दबाब चाहिँ थिएन । अरु फिल्ममा डाउटफूल थियो । मनपरेको फिल्म हुन्छ तर दर्शकले मनपराइदिनुभएको हुँदैन । यसमा फिल्म चल्छ वा चल्दैन भन्ने दबाब चाहिँ थिएन’ उनी भन्छिन् ।
बरु उनका प्रतिक्रियालाई लिएर दबाब थियो । ‘मैले निर्वाह गरेको चरित्रलाई दर्शकले कसरी हेर्नुहुुन्छ भन्ने डर थियो । त्यसले पजेटिभ वा नेगेटिभ प्रभाव पार्छ वा पार्दैन भन्ने कुरामा डाउट थियो’ उनी भन्छिन् । अवश्य पनि हरेक कलाकारको लागि फिल्मको हिट वा फ्लपले अर्थ राख्छ । उनलाई पनि यस्तै भयो ।
मेरा लागि डेब्यु फिल्मजस्तै
वर्षाले सन् २०१४ मा रिलिज भएको ‘नाई नभन्नू ल २’बाट फिल्म करिअर थालेकी हुन् । यो विन्दूमा आएर उनलाई ‘छक्कापञ्जा ५’ वास्तविक अर्थमा आफ्नो डेब्यु फिल्मजस्तै लाग्छ । उनी यसलाई करिअरको कमब्याक भन्न रुचाउँछिन् । यसका लागि उनी ३ वर्षको ग्यापपछि फर्किइन् आत्मविश्वास बोकेर ।
‘करिअर उकासिने हिसाबले यो मेरा लागि महत्वपूर्ण थियो’ भन्छिन् । यस फिल्मबाट आफूले उद्योगका अन्तर्यबारे धेरै कुरा बुझ्ने मौका पाएको बताइन् । ‘काम गर्दा इन्जोय गरेँ । उहाँहरुको टीमसँग आबद्ध भएपछि यसले सकारात्मक ऊर्जा दियो । म उद्योगबारे अनभिज्ञ थिएँ’ भन्छिन्, ‘करिअर डिसिजनमा यसले ठूलो मद्दत गर्छजस्तो लाग्छ ।’
फिल्मले आफूलाई करिअरमा सन्तुष्टि दिएको अनुभव उनको छ । ‘मेरो करिअरमा जुन रिक्तता थियो । त्यो रिक्तता मेटिएको महसुस गरेकी छु’ भन्छिन्, ‘उहाँहरु जोडिएको अन्य समूहबाट नयाँ फिल्मका लागि अप्रोच आइराखेका छन् । राम्रो टीम भेटाएँ मैले ।’ राम्रा ब्यानरबाट अफर आएपनि निधो नगरिसकेको वर्षा बताउँछिन् ।
दर्शकले परिवर्तन चाहेका छन्
‘छक्कापञ्जा ५’ अन्य आयामले पनि चर्चामा रह्यो । यस्तो लाग्थ्यो- यो फिल्म रिलिजभन्दा पनि चुनावी माहोल हो जहाँ जित र हारका लागि उम्मेदवार खडा छन् । वर्षाले यो दृश्यलाई नजिकबाट बुझ्ने मौका पाइन् ।
उनलाई लाग्छ- अब चीजलाई सकारात्मक ढंगमा लिनुपर्छ । ‘चुनावी माहोलजस्तो परिस्थिती भएको थियो । त्यो चीजले फाइदा चाहिँ हाम्रो उद्योगलाई भयो । नभए ब्यापार यो लेभलमा हुने थिएन । सकारात्मक ढंगले अघि बढ्नुपर्छ भन्ने पाठ यसले सिकाउँछ’ उनी भन्छिन् ।
उनी अब नयाँ कथावस्तु दर्शकले चाहेको बताउँछिन् । ‘दर्शकले चेन्ज खोज्नुभएको थियो । हामीले त्यो दिन सक्यांैं भन्ने लाग्छ । १२ गाउँबाट समीरजी आउनुभयो । हामीले पनि नयाँ कन्टेन्ट दियौं । पूर्णबहादुरको सारंगीले पनि दर्शकलाई नयाँ कुरा दिएको छ’ वर्षाको बुझाइ छ, ‘दर्शकले परिवर्तन चाहेका छन् । फिल्मी माहोलले इन्गेज गराएको छ । अब स्वस्थ प्रतिस्पर्धा, नयाँ विषयवस्तु र प्रस्तुति हुनुपर्छ भन्नेमा स्पष्टता छ ।’
उनी अब स्टेरियोटाइप र फर्मुला फिल्मभन्दा भिन्न फिल्म हुनुपर्ने तर्क गर्छिन् । प्रस्तुति, अभिनय र विषयवस्तु बजारीकरण, गुणस्तरबीच सन्तुलन मिलाउन सक्नुपर्छ । मेकरले बुझ्नुपर्यो । यो माहोलले स्पष्टता दियो । हामी ब्राण्ड र स्टारडममा मात्र फोकस हुन्थ्यौं । यो गलत प्रमाणित भएको छ ।’
प्रतिक्रिया 4