+
+

साढे ५ किलो सुन प्रकरण: एक महिनाअघि काठमाडौं आएका चिनियाँको योजनामा तस्करी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १७:५९

२३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ५ किलो ७ सय ग्राम सुन तस्करी घटनाका मुख्य योजनाकार चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत मंगलबार साँझ पक्राउ परेका चिनियाँ नागरिक जियान योङ र म्यानमारका साट नेइङ टन र इङ ङोन फूमाथि विमानस्थलस्थित भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूसँग अहिले प्रारम्भिक सोधपुछको काम भइरहेको विमानस्थलको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बरालले बताए ।

‘अहिले प्रारम्भिक सोधपुछको काम भइरहेको छ । कुन प्रयोजनका लागि ल्याए, कसलाई दिन खोजिएको थियो वा कहाँ लैजाने योजना थियो लगायतका विषयमा हामी सोधखोज गर्दैछौं,’ बरालले अनलाइनखबरसँग भने ।

भन्सारको प्रारम्भिक अनुसन्धानका क्रममा अहिले पक्राउ परेका चिनियाँ नागरिकको योजनामा सुन तस्करी भएको देखिन्छ । पक्राउ परेका चिनियाँ यसअघि समेत काठमाडौं आएको देखिएको बरालले बताए ।

चिनियाँ नागरिक जियान योङ एक महिनाअघि १० असोजमा मात्रै काठमाडौं आएको उनको पोसपोर्टबाट खुलेको छ ।  ‘यसअघि पनि उनी काठमाडौं आएर फर्केकाले सुन तस्करी भएको हुनसक्ने आशंका देखाएको छ’ भन्सार कार्यालय स्रोतले भन्यो, ‘वा उनी रेकी गर्न काठमाडौं आएर त्यसपछि अहिले तस्करीमा जोडिएको पनि हुनसक्छन् ।’

जियान योङ १० असोजमा काठमाडौं आएर त्यसै दिन फर्केकाले पनि उनको ट्राभल नै शंकास्पद देखिएको छ ।

पक्राउ परेकामध्ये दुई म्यानमारका नागरिक भने पहिलो पटक काठमाडौं आएका हुन् । शारजहाँमै अर्का एक एजेन्टमार्फत कन्ट्याक भएर उनीहरू सुन बोकेर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अनुसन्धानकै चरणमा रहेकाले उनीहरू भरिया मात्रै हुन् वा अन्यमा पनि संलग्न छन् भन्ने खुल्न बाँकी नै रहेको देखिएको बरालले बताए ।

दुबईको शारजहाँबाट एयर अरेबियाको उडान नम्बर जी९५३० मार्फत काठमाडौं आएका उनीहरूले लगेजमा १२ थान स्पीकर ल्याएका थिए ।

ती स्पीकरलाई मेशिनमार्फत डिटेक्ट गर्दा शंकास्पद देखिएपछि खोलेर हेर्दा सुन भेटिएको थियो । १२ वटा स्पीपकरमा फल्स बटम बनाएर रिङ आकारको सुन उनीहरूले ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?