+
+

राष्ट्रिय स्वाधीनताको प्रश्न पेचिलो बनेको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते ८:३१

२५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताएका छन् ।

नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको उनको भनाइ छ ।

मकवानपुरको हेटौंडामा प्रेस सेन्टर नेपालले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं । त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ ।’

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल-हमास युद्ध, रुस-युक्रेन युद्ध लगायतका कारण विश्व नै प्रभावित भइरहेका बेला नेपाल पनि अछुतो नभएको उनको भनाइ छ ।

उनले भने, ‘हामी भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा हुनुको नाताले अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाक्रमहरुको असर नेपाललाई परिराख्या छ । त्यसकारण नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको छ ।’

‘मैले यो कुरा ब्याख्या नगरी भन्दा अहिले सरकार जुन धरातलमा, जुन उद्देश्यको साथ बनेको छ, त्यसको पछाडि जस्ता शक्तिहरू सक्रिय देखिएका छन् त्यो सबैले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पनि पहिलेभन्दा अहिले अझ बढी पेचिलो, अझ बढी संवेदनशील बन्दै गएको छ,’ प्रचण्डले थपे ।

विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजीवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना औंल्याएको बताउँदै प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय स्थिति सहज ढंगले अगाडि बढेको छैन । कतिबेला कहाँ कसरी विष्फोट हुने हो कि भन्याजस्तो छ र एकखालले त भइसक्या पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?