+
+

तिलिचो आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १३:०८

२५ कात्तिक, काठमाडौं । हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्र सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति सुरु गरिएको हो । बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको हो ।

बेस क्याम्पमा १० होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्ट सञ्चालनमा छन् । बेस क्याम्पमा विद्युत ग्राहक संख्या १५ छ । राष्ट्रिय प्रसारण लाइन पुग्नु पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।

सौर्य ऊर्जाको ब्याकअपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै ङिस्याङ गाउँपालिका–९ का अध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत् प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले ग्यास प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ,’ बेस क्याम्पमा होटलसमेत चलाइरहेका वडाध्यक्ष गुरुङले भने, ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइन भरपर्दो र गुणस्तरीय बनाउन सकिए होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यास प्रयोग पूर्णरूपमा कटौती गर्न सकिन्छ ।’

उनले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यास प्रयोग हुने गरेको बाए ।

केही दिनअघि खाङ्सार पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्र उज्यालो बनाउने अभियान अन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पर्‍याइएको बताए ।

वडाध्यक्ष सहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने, ‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्‍याउन केन्द्रित थियौं, ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधार लगायत काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्र सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३÷११ केभी सबस्टेसन पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको हो ।

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ ।

राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मनाङ नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

धारापानी सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका लागि आवश्यक संरचना व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?