+
+

कार्म र मेनुका अभिनित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १४:०५

काठमाडौं । सन्तान सुखको आशामा रमाइरहेका दम्पतीसामु अकस्मात् आइलाग्ने जटिलताले कुन मोड लेला ? आफ्ना दुई प्रिय मान्छेलाई छनोट गर्नुपर्ने सकस कस्तो होला ?

यो मनोदशाबाट धेरै दम्पती गुज्रिएका छन् । सन्तानसुखको आशामा बसेका आम दम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ले प्रस्तुत गर्छ ।

मण्डला थिएटरले यस वर्ष घोषणा गरेका १४ मध्येको एक यो नाटकको मञ्चन शनिबारदेखि सुरु भएको छ । नियमित मञ्चनअघि सेलिब्रेटी, सञ्चारकर्मी र कलाकर्मीको उपस्थितिमा नाटक प्रिमियर गरियो ।

कार्म र मेनुका प्रधान दम्पतीको भूमिकामा छन् । ९० मिनेट लामो नाटक यही दुई कलाकार वरपर घुम्छ र दर्शकलाई उनीहरुको मनोदशा र परिस्थितिसँगै यात्रा गराउँछ । केदार श्रेष्ठले निर्देशन गरेको नाटकको निर्माण दयाहाङ राईले गरेका हुन् ।

सन्तान चाहनाको उत्कट उत्साह संगालेका दम्पतीको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, बाध्यता, विवशता, विकल्प र विश्वासको कथामा नाटक आधारित छ । नाटकले घटनाभन्दा पनि त्यसबाट सिर्जित प्रभाव र प्रेमको कथा भन्छ ।

निर्माता दयाहाङले पढ्दादेखि नै आफूलाई भुरुङ्ग बनाएको बताए । ‘अनि यो नाटकको सिर्जनात्मक निर्माता हुन आँट गरेको हुँ । खर्चको चाँजोपाँजो त मण्डलाले गरेको हो,’ उनले भने ।

लेखक तथा निर्देशक केदार श्रेष्ठले यो नाटकलाई पात्रले सिर्जना गरेका शब्द र शब्दले बनाएका दृश्यको ‘इन्स्टलेसन आर्ट’को रुपमा व्याख्या गरे । जुन आर्टलाई मन र मस्तिष्क दुवैले ठडाएको हुँ,’ उनले भने ।

नाटकको सेट र प्रप्स निर्माण पनि आकर्षक छ । एक उजाड रुखलाई गर्भवती महिला बनाएर कल्पना गरिएको यो विम्बपरक सेटिङले दर्शकलाई आकर्षित गर्छ । प्रप्स आफैंमा महत्वपूर्ण पात्र बन्नसक्छ भन्ने बुझाउने प्रयासले यसले गरेको छ । यसबाहेक ध्वनि र प्रकाशले मुड सिर्जना गर्छन् ।

मेनुका र कार्मको बेजोड अभिनय नाटकको महत्वपूर्ण पक्ष हो । विशेषगरी दम्पती र महिला दर्शकलाई नाटकले हृदयस्पर्श गर्न सक्छ । २४ कात्तिकदेखि सुरु भएको नाटकको मञ्चन १६ मंसिरसम्म हुने मण्डलाले जनाएको छ ।

अन्य तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?