२५ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि वेस्ट इन्डिजका क्रिकेटर रेमन रेइफरलाई टोलीमा अनुबन्ध गरेको छ ।
पोखराले एनपीएलका लागि अनुबन्ध गरेको रेइफर पाँचौ विदेशी खेलाडी हुन् । एनपीएलकै महँगो टोली पोखराले यसअघि नै नेदरल्याण्ड्सका बास डे लिड, अमेरिकाका आन्द्रेस गौस, वेष्ट इन्डिजका एन्डरसन फिलिप र इंग्ल्याण्डका म्याट क्रिटलेलाई अनुबन्ध गरिसकेको छ । एनपीएलमा एउटा टिमले चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने भएपछि खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।
३३ वर्षीय अलराउन्डर रेइफलरले वेष्ट इन्डिका लागि तीनवटै फर्म्याटमा खेलिसकेका छन् । उनले राष्ट्रिय टिमका लागि ८ टेष्ट, ६ ओडसआई र ३ टी२०आई खेल खेलेका छन् । टी२०मा भने उनले ९३ खेल खेलेका छन् । जसमा १ हजार १२४ रन बनाउनुका साथै ६६ विकेट लिएका छन् ।
रेइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली अझ बलियो हुने विश्वास गरेका छन् ।
यस्तै एभेन्जर्सका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीहरु समेटिएपछि टिम सन्तुलित बनेको र प्रदर्शन पनि उच्च हुने विश्वास रहेको बताए ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरा एभेन्जर्समा राष्ट्रिय टोलीकै सागर ढकाल पनि छन् । यस्तै अन्य खेलाडीमा आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ छन् ।
आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । यस्तै टिमको मेन्टरमा दक्षिण अफ्रिकी लेजेण्ड जोन्टी रोड्सलाई अनुबन्ध गरेको छ ।
क्यानको आयोजनमा आगामी मंसिर १५ देखि पुस ६ गते सम्म आयोजना हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4