
२६ कात्तिक, काठमाडौँ। नेपालको स्थापित म्यूजिक ब्यान्ड ‘कन्दरा’ र गायक स्वप्न सुमनले लन्डन ओटुमा सांगीतिक प्रस्तुती दिने भएका छन् ।
म्यूजिक ब्यान्ड ‘कन्दरा’ ले आफ्नो यात्राको ३२ औं वर्षगांठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सवका रुपमा आउंदो ४ जनवरी शनिबार लन्डनस्थित इन्डिगो दि ओटुमा भव्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ ।
आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरुमाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा लण्डनमा पहिलो पटक प्रस्तुती दिँदैछन् । कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृंगारले, वाचा भयो, जे छौ तिमी, लगायतका गीतहरु प्रस्तुत गर्नेछन् ।
सो अवसरमा ‘कन्दरा’ले आफ्नो कालजयी गीत संगीत र अहिले मातृभूमि नेपालको आन्तरिक पर्यटनको सम्वाहक बनि पहिला घरदेश अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौं गीत उक्त कार्यक्रममा प्रस्तुत हुनेछन्।
कन्दराले आत्मसात गरेको लोक पप धुनहरु आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन् ।
आयोजकले नेपाली संगीत धरोहरको रुपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत संगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ । जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ ।
कन्दराको सांगीतिक यात्राको ३२औं वार्षिकोत्सव मनाउँदै संगै इतिहास रच्ने यो सांगीतिक माहोलमा सहभागी हुन आयोकजले सबैमा अपिल गरेको छ ।
प्रतिक्रिया 4