
२६ कात्तिक, काठमाडौं । २१औं हस्तकला व्यापार मेला काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल हस्तकला महासंघको आयोजनामा २० देखि २४ मंसिरमा मेला आयोजना हुने भएको हो । उद्यमी, कलाकार, कालिगढबाट उत्पादित नेपाली हस्तकला वस्तुको राष्ट्रिय–अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
महासंघले आफ्नो वार्षिक कार्यक्रमका रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको समन्वयमा मेला आयोजना हुने जनाएको छ ।
मेला उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । मेलामा हस्तकलाका करिब १ सय ५० स्टल रहने छ । मेलामा विदेशी प्रदर्शनीकर्ताका रूपमा भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीले भाग लिने भएका छन् ।
मेलामा धातुकला, सुनचाँदी, सूति एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामान लगायत अन्य हस्तकला सामग्री प्रर्दशनी तथा बिक्रीमा राखिने छ ।
मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क स्टल प्रदान गरिने छ । मेलामा हस्तकला प्रतियोगिता समेत आयोजना गरिने छ ।
मेलाका अवसरमा २०८०/८१ का लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।
प्रतिक्रिया 4