+
+

महासंघले लगानी प्रवर्द्धनमा नियोगहरूलाई सघाउँछ : अध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १२:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतसँग अन्तर्क्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको उनले बताए ।

‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कूटनीति विस्तार गर्न हामी आग्रह गर्न चाहन्छौं,’ उनले भने, ‘यसमा महामहीमज्यूहरूले पनि अग्रसरता लिइदिनुपर्‍यो ।’

नेपालमा वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरूलाई आर्थिक कूटनीतिलाई कार्य सम्पादनको मानकका रूपमा मानेर काम गर्न आग्रह गरे । अध्यक्ष ढकालले महासंघको अन्तर्राष्ट्रिय सञ्जाललाई पनि नियोगहरूले उपयोग गर्न सक्ने बताए ।

महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरूसँग सहकार्य रहेको उनले बताए ।

महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको भन्दै अध्यक्ष ढकालले विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने बताए ।

नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए ।

छलफलमा सहभागी नवनियुक्त राजदूतहरूले स्तरोन्नतिबाट न्यून प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताए ।
यसैगरी निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउँदै सहकार्य गरिने उनीहरूले बताए ।

बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्विपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने सुझाव दिए ।

चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने सुझाव दिए ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतसँग उठाउनु पर्ने विषय वस्तुबारे लिखित रूपमा सुझाव दिन आग्रह गरे ।

जर्मनका लागि नेपालका राजदूत डा. सहयोग रुपाखेती युरोपेली मुलुकमा जाने मुलुकहरूमा जीएसपी प्लस सुविधा लिनका लागि महासंघले पहल गर्नुपर्ने बताए ।

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत कपिल श्रेष्ठ, पाकिस्तान रीता धिताल, साउदी अरब नरेश ढकाल, स्पेन सनिल नेपाल, पोर्चुगल प्रकाशमणि पौडेल र मलेसिया नेत्रप्रसाद तिमल्सेनाले निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?