+
+

नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ : प्रधानमन्त्रीलाई जनप्रतिनिधिले बुझाए ध्यानाकर्षण पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १३:३०

२९ कात्तिक, काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जनप्रतिनिधिहरुले आज प्रधानमन्त्री ओलीसँगको भेटमा ध्यानाकर्षण गराएका हुन् ।

सडक विस्तारको जिम्मेवारी पाएको चाइनास्टेट कम्पनीले काममा ढिलासुस्ती गर्दा यात्रु, चालक र सडक किनारका बस्तीका बासिन्दाले सास्ती खेप्नु परेको उनीहरुको भनाइ छ ।

‘सम्बन्धित ठेकेदार कम्पनीको लापरवाहीका कारण सडकको अवस्था अस्तव्यस्त रहनाले यात्रा गर्ने यात्रुहरुले निकै सास्ती भोग्नुपरेको तथा सडक छिमेकीले समेत प्रदूषित वातावरण भोग्नुपरेको अवस्था छ,’ प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘निर्माण कार्यमा तीव्रता ल्याउन सम्बन्धित जिम्मेवार पक्षलाई कडा निर्देशन होस् ।’

सडक विस्तारको जिम्मा चिनियाँ ठेकेदारले लिएको छ । तर काममा ढिलासुस्ती गरेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि तीन जिल्लाका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सम्बन्धित जिल्ला समन्वय समितिका प्रमुख र पालिका प्रमुखसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र पश्चिम नवलपरासीका जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।

प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मा समेत सहभागी थिए ।

भौतिक पूर्वाधारमन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराएका थिए ।

चाइनास्टेट कम्पनीसँग उक्त सडकखण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?