+
+

निर्मला पन्त प्रकरणमा पुराना समितिहरुको निचोड एकीकृत गर्न बन्यो नयाँ समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते २०:१५

२९ कात्तिक, काठमाडौं। कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा यसअघि भएका सबै अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको छ ।

यो समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर निचोडहरुलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन् ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार, ७ सदस्यीय समितिमा अपराध अनुसन्धान विभागका उच्च अधिकृतहरु पनि सदस्य छन् ।

‘निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न विभिन्न समिति बनाएर जाँच गर्दा पनि सफल अनुसन्धान नभएकाले विगतका प्रतिवेदनको अध्ययन गरेर अनुसन्धानलाई एकतृत गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउन समिति गठन गरिएको छ’, महानिरीक्षक कुँवरले पत्रमा भनेका छन् ।

प्रहरीले समिति गठनको विषयलाई गोप्य राखेर काम गरिरहेको थियो । तर, एक टेलिभिजनमा आफू निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै एक व्यक्तिले अन्तर्वार्ता दिएपछि समितिले अध्ययनको कामलाई थप तीब्रता दिएको छ ।

‘अहिलेसम्म भएका अनुसन्धानका राम्रा पाटाहरुलाई केलाएर छानबिन गर्ने काम अहिले पनि निरन्तर छ’, सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटी भन्छन्, ‘त्यहीबीच प्रत्यक्षदर्शी भन्दै भ्रम फैलाउने गरी अन्तर्वार्ता दिएपछि गोरखाका नवराज अर्यालपत्रकार ऋषि धमलालाई पनि सोधपुछका लागि बोलाएका थियौं ।’

निर्मला पन्त प्रकरणमा पहिल्यैदेखि विभिन्न किसिमका भ्रामक सूचनाहरु फैलिएको र त्यसले अनुसन्धानलाई समेत प्रभावित पारेको अधिकृतहरुको बुझाइ छ ।

‘यस्तोमा भ्रामक कुरामा विश्वास नगरिदिन हामी आग्रह गर्छौं र प्रहरी प्रधान कार्यालयले बनाएको समितिले काम गरिरहेको बताउन चाहन्छौं’, सीआईबीका प्रवक्ता बोगटीले भने, ‘नेपाल प्रहरीका लागि यो चुनौतीको विषय पनि हो । हामी निरन्तर यो घटना सत्य, तथ्य विवरण बाहिर ल्याउन प्रयास गरिरहेका छौं ।’

नतिजा दिन समय लाग्दा कतिपयले गलत कुरामा विश्वास गर्नु अस्वभाविक नभएपनि प्रहरीको आधिकारिक सूचनालाई मात्र विश्वास गरिदिन उनले आग्रह गरे ।

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । केही दिनपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै स्थानीय ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

तर, त्यसबेला विष्ट मानसिक रोगी भएको र उनी दोषी हुन नसक्ने भन्दै प्रदर्शन चर्किएको थियो । पछि पन्तको भजाइनल स्वाबबाट निकालिएको नमूनासँग उनको डीएनए मिलेन । त्यसपछि उनी छुटेका थिए ।

त्यसयता प्रहरीले सयौं व्यक्तिमाथि सोधपुछ र डीएनए जाँच गरेपनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । बरु चिकित्सकहरुको एउटा अध्ययन टोलीले निर्मलाको भजाइनल स्वाबबाट निकालिएको भनिएको डीएनएको नमूनामाथि नै प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?