+
+

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १९:३०

३० कात्तिक, काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार (मन्त्री) मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।

शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो । यो याममा एक दिन मात्र अर्थात् शुक्रवार राती १२ बजेसम्म मात्रै बिजुली निर्यात हुनेछ  ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ ।

सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म प्राधिकरणको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।

त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।

ऊर्जामन्त्री खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री खट्टरसँग छलफल गरेका थिए ।

हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।

केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाहरुबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरुसमेत हुन् ।

नेपाल विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ ।

नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुने पनि सम्झौतामा छ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्ने छ ।

मुजफ्फरपुरबाट बंगलादेश सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौता छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बेच्ने बिजुलीको भाउ बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान छ ।

भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनभीभीएनबाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ ।

नेपालले १० हजार मेगावाट विद्युत भारत र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?