
काठमाडौं । महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जब मञ्चमा उक्लिन्छन्, तब माहोल हाँसो र व्यंग्यले गुल्जार बन्न थाल्छ । समाज र राजनीतिक प्रवृत्तिलाई उनीहरुले जसरी कटाक्ष गर्छन्, यसले दर्शकलाई सोच्न बाध्य तुल्याउँछ ।
दशकपछि महजोडी मञ्चमा एकसाथ देखिंदा बिहीबार बेलुका प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय गुल्जार बन्यो । महजोडीको सर्वकालीन प्रहसन हेर्न दर्शक खचाखच थिए ।
स्ट्यान्डअप कमेडी, हास्य अभिनय, संगीतको शैलीमार्फत महजोडीका साथै अन्य कलाकारले दर्शकलाई पौने तीन घण्टा मनोरञ्जन दिए । महजात्रा बिहीबारदेखि पुनः दर्शकमाझ फर्किएको हो ।
‘टिभी चाइनाको, सिरियल इण्डियाको’
महजोडीसहितका कलाकारले नृत्य र गायन प्रस्तुतिमार्फत महजात्राको सुरुवात गरे । यो गीतमा आत्मनिर्भर अर्थतन्त्र बनाउने सरकारको नारा र व्यवहारलाई कटाक्ष गरिएको छ । सुनदेखि नुनसम्म सबै भारत र चीनबाट ल्याउने तर नेपालमा उत्पादन नहुने अवस्थालाई महजोडीले सुरुमै व्यंग्य गरे ।
त्यसपछि किरण केसी, राजाराम पौडेल र शिवहरि पौड्यालले ‘यमलोक’को कथामा दमदार प्रस्तुति दिए । यमराज र चित्रगुप्ताको चरित्रमार्फत उनीहरुले ‘मर्त्यलोक नेपाल’को सामाजिक परिस्थितिलाई निकै व्यंग्य गरे ।
मञ्चमा उक्लिएका यमन श्रेष्ठले ‘धुम्कुती पाक्दुम भजन’ गाएर दर्शकलाई मनोरञ्जन दिए ।
त्यसपछि मञ्चमा हरिवंशले आधा घण्टा एक्लै प्रस्तुति दिए । खादा लगाउँदा चीनलाई फाइदा हुने भन्दै उनले यो प्रवृत्तिमा कटाक्ष गरे ।
पछिल्लो समय मौलाएको मःम व्यवसायलाई कटाक्ष गर्दै उनले मःम मन्त्री र मःम मन्त्रालय गठन गर्नुपर्ने बताए । नेपाललाई मःम राष्ट्रको रुपमा घोषणा गर्नुपर्ने, किनकि मःम पसलले लाखौं नेपालीलाई रोजगार दिएको व्यंग्य उनले गरे ।
पशुलाई नृंशसापूर्वक वध गर्ने प्रवृत्तिको पनि उनले विरोध गरे । भारतले नेपालका लिपुलेक र कालापानीजस्ता क्षेत्र अतिक्रमण गरेको भन्दै उनले यसको व्यंग्यमार्फत विरोध गरे ।
त्यसपछि मञ्चमा मदनकृष्णले एकल प्रस्तुति दिए । उनले ‘गाँठो’को प्रकार र विषयमा समसामयिक राजनीति र सामाजिक प्रवृत्तिको उछितो काढे । गठबन्धनको गाँठोदेखि एमालेको गाँठो भन्दै उनले हँसाए । मिसन ८४ को होमवर्क अहिल्यैदेखि सुरु भएको उनले बताए ।
त्यसपछि हास्यव्यंग्य कवि शैलेन्द्र सिंखडाले समाज र राजनीतिमाथि कटाक्ष गरे । उनको कटाक्षको निशानामा अभिनेत्रीदेखि दम्पतीसम्म थिए । उनले लैंगिक समानताको सन्देश दिंदै वर्तमान प्रधानमन्त्रीलाई बाको रुपमा व्यंग्य गरे ।
त्यसपछि मञ्चमा देखिएका महजोडी र नरेन्द्र कंसाकारको अन्तिम प्रस्तुति रह्यो । उनीहरुले अस्पताल बिरामीको स्याहार र उपचारभन्दा पैसामुखी भएको भन्दै व्यंग्य गरे ।
मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको महजात्रा कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७ र १८ गते हुनेछ ।
कार्यक्रममा दिनेश काफ्लेले पनि प्रस्तुति दिए भने विभूषा बस्नेतले कार्यक्रम सञ्चालन गरिन् । प्रहसनको उद्देश्य हास्यव्यंग्यको माध्यमबाट समसामयिक समस्या र विविध मुद्दालाई उजागर गर्नु रहेको तथा नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरीतिहरूलाई व्यंग्य शैलीमा प्रस्तुत गर्नु रहेको कलाकार किरण केसीले बताए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4