+
+

भक्तपुरमा कसले गर्‍यो ९४ वर्षीया वृद्धाको हत्या ?

गौरव पोखरेल गौरव पोखरेल
२०८१ कात्तिक ३० गते २१:५२

३० कात्तिक, भक्तपुर । भक्तपुर नगरपालिका–३, इच्छुगल्लीकी विष्णुकुमारी त्वयना उमेरले ९४ पुगिसकेकी थिइन् । ६ जना छोराछोरीको अंशबण्डा भइसकेकाले घरमा एक्लै बस्थिन्, आफ्नो लागि खानेकुरा आफैं बनाउँथिन् । प्रायः घरमै बसेर दिन बिताउने उनी घरभित्रै मारिइन् भन्ने सुन्दा सुरुमा स्थानीयलाई विश्वास लागेको छैन ।

उनको वासस्थल पनि ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको भक्तपुर दरबार स्क्वायर परिसरभित्रै थियो ।

दरबार स्क्वायर प्रवेश गर्ने मुख्य गेटबाट छिर्ने वित्तिकै केदारनाथ शिव मन्दिर आउँछ, त्यही मन्दिरसँगै रहेको इच्छुगल्लीबाट डेढ सय मिटर अघिल्तिर रहेको घरमा विष्णुकुमारी बस्थिन् ।

रैनाथे नेवार समुदायको बसोवास रहेको दरबार स्क्वायर क्षेत्र प्रायः शान्त रहन्छ । अपराध पनि ज्यादै कम हुन्छन्, समुदायभित्र नयाँ मान्छे आए पनि थाहा भइहाल्ने भएकाले पत्ता लागिहाल्छ ।

यस्तोमा स्थानीयवासीलाई विष्णुकुमारीको उमेरका कारण पनि सुरुमा हत्या भएको सुन्दा अपत्यारिलो लागेको थियो ।

‘त्यति वृद्धालाई मारेर कसलाई पो फाइदा होला ?’, अनलाइनखबरले कुराकानी गरेका इच्छुगल्लीका स्थानीयहरुले प्रश्न गरे, ‘त्यसैले सुरुमा उहाँको हत्या भयो भन्ने पत्याउनै मुस्किल पर्‍यो ।’

जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार, बुधबार साँझ ५ बजेतिर इच्छुगल्लीमा रहेको एउटा पुरानो घरमा महिला मृत अवस्थामा भेटिएको भन्दै खबर आएको थियो । भक्तपुर प्रहरीबाट खटिएको टोली गएर हेर्दा चौथो तलामा एक्लै बस्दै आएकी वृद्धा विष्णुकुमारी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको उनले बताए ।

बुढाथोकीले अनलाइनखबरसँग भने, ‘खुट्टा बाँधेको थियो, मुखमा पनि कपडा कोचेको जस्तो देखिएको थियो । उहाँको शव जस्तो अवस्थामा भेटियो, त्यसले हत्या भएको भन्ने स्पष्ट देखाउँथ्यो ।’

लगत्तै प्रहरीले अनुसन्धानमा सहयोगी तालिम प्राप्त कुकुरलाई केनाइन शाखाबाट झिकाएको थियो भने उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई पनि जाँचमा खटाएको थियो ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठायो । ‘मृत्युको यकिन कारण पोष्टमार्टम जाँचको विस्तृत प्रतिवेदनबाट आउला, अहिलेलाई उनको हत्या भएको देखिन्छ र संलग्नको खोजी गरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’

धान उठाएर घरमा गएकी थिइन् विष्णुकुमारी

पारिवारिक स्रोतका अनुसार, विष्णुकुमारीका ४ छोरा र दुई छोरी छन् । सबैको विवाह भइसकेको छ र छुट्टाछुट्टै बस्दै आएका छन् ।

विष्णुकुमारी चाहिं दरबार स्क्वायर नजिकैको घरमा २२ वर्षदेखि एक्लै बस्दै आएकी थिइन् । ‘यो घर झण्डै ५५ वर्ष पुरानो हो, आमाको भावनात्मक सम्बन्ध पनि भयो’, शुक्रबार उनकी एक छोरीले भनिन्, ‘उहाँले यहीं बस्ने रुचि गरेपछि अरुले पनि केही भन्ने कुरा भएन ।’

अरु छोराछोरी भने छुट्टिएर वेग्लावेग्लै बस्दै आएका थिए । कहिलेकाहीं आमा भेट्न आइरहन्थे ।

विष्णुकुमारीको शव भेटिनु अघिल्लो दिन साँझ ६ बजेतिर अन्तिम पटक कान्छी बुहारी माया त्वयनाले उनलाई भेटेकी थिइन् । त्वयनाका अनुसार, धान उठाएर दरबार स्क्वायरको पुर्ख्यौली घरमा थन्क्याइएको थियो । ‘उहाँ खेतमा पनि आउनुभएको थियो, धान निफन्ने लगायत काम पनि गर्नुभयो’, उनले अनलाइनखबरसँग भनिन्, ‘९४ वर्ष भए पनि उहाँ एकदम ठीक हुनुहुन्थ्यो, हिंड्नेडुल्ने अलिअलि काम गर्ने गरिरहनुहुन्थ्यो ।’

मंगलबार पनि विष्णुकुमारी त्यसैगरी दिनभर सक्रिय थिइन् । सुकाएको धान उठाउन पनि सहयोग गरेकी थिइन् । झमक्क साँझ पर्न लागेका बेला घरको भुइँतलामा रहेको ‘टुरिस्ट गिफ्ट सप’मा कान्छी बुहारीसँग भेट भएको थियो । ‘त्यसबेलासम्म उहाँ सामान्य नै हुनुहुन्थ्यो, बिहान मैले नै खाना पकाएर खुवाएकी थिएँ’ उनले थपिन्, ‘बेलुकालाई पनि पुग्ने गरी पकाएकाले बाँकी भान्छामा छोपेर राखिदिएकी थिएँ ।’

आमासँग बिदा मागेर उनी सूर्यविनायकस्थित घरमा गइन् । भोलिपल्ट विष्णुकुमारी बाहिर देखिइनन् । चौथो तलामा आफू एक्लै सुत्थिन् । तल्लो तलामा तरकारी पसल गर्ने, थांका व्यवसायी लगायत भाडामा बस्थे, उनीहरुमध्ये कसैलाई विष्णुकुमारीको यादै भएन ।

एकैपटक बुधबार साँझ ५ बजेतिर बुहारी माया त्वयना धान सुकाउँदाको त्रिपाल र बोरा राख्न उक्लिंदा विष्णुकुमारीलाई सुतिरहेको देखिन् । ‘मैले आमा, आमा भनेर पटकपटक बोलाएँ, तर उहाँ चलमल गर्नुभएन’ उनले घटनाको अनुसन्धान गरिरहेको प्रहरीसँग भनेकी छन्, ‘त्यसपछि मैले श्रीमान्लाई खबर गरें, छोरालाई पनि बोलाएर हेर्‍यौं ।’

उनका अनुसार, त्यसबेला विष्णुकुमारीको खुट्टा बाँधिएको अवस्थामा थियो, मुखमा कपडा कोचिएको थियो । प्रहरीका अनुसार, पुरानो पेटिकोट च्यातेर खुट्टामा बाँधेको जस्तो देखिन्छ भने मुखमा पनि त्यही कोचिएको छ । काठमाडौं मेडिकल कलेज, दुवाकोटका फरेन्सिक चिकित्सकहरुका अनुसार, विष्णुकुमारीको शव झण्डै १८ घन्टा पुरानो हुनसक्छ । उनको खाएको कुरा पनि राम्रोसँग पचिनसकेको नदेखिएकाले मंगलबार साँझ खाना खाएको केही समयमै हत्या भएको हुनसक्ने आशंका छ ।

प्रहरीका अनुसार, भान्छा कोठामा भएको खाना खाएको जस्तो देखिन्छ । केही भातसहितको थाल पनि जुठेल्नामा भेटिएकाले उनी खाने वित्तिकै ओछ्यानतिर गएको र त्यतिबेला हत्या भएको हुनसक्ने आशंका छ । कान्छी छोरी माया दुवालका अनुसार, घरमा बत्ती बिग्रिएपछि मर्मतका लागि दुई जना समेत बेलुकी आएको भेटिएको छ ।

उनीहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।

लुटपाटको आशंका

पारिवारिक स्रोतका अनुसार, अस्पतालले पोष्टमार्टमपछि शव बुझाउने क्रममा एउटा डोरी फिर्ता पठाइदिएको छ, जुन परिवारले शुक्रबार प्रहरीलाई दिएको छ ।

‘त्यो डोरी विष्णुमायाले घाँटीमा झुण्ड्याउने थैलीको भएको छोरी माया दुवालले अनलाइनखबरलाई बताइन् । ‘त्यसमा कति पैसा हुन्थ्यो वा हुन्नथ्यो चाहिं थाहा भएन’, उनले भनिन्, ‘त्यो थैली हराएको जस्तो देखिन्छ ।’

अधिकृतहरुका अनुसार, विष्णुकुमारीको कानमा भएको दुईवटा मुन्द्रा पनि गायब छ । ‘मुन्द्रा पुगनपुग ८ आना (करिब आधा तोला) जति थियो होला, निकै पुरानो हो’ छोरी माया दुवाल भन्छिन्, ‘कानमा भएको अरु सानो सुनको गहना चाहिं त्यहीं थियो ।’

प्रहरीको भनाइमा, विष्णुकुमारीको कानमा लगाएको स–साना सुनको टुक्रा निकाल्न सहजै सम्भव थिएन । त्यसैले हत्यामा संलग्नहरुले स–साना गहना चाहिं नलगेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु शंका गर्छन् ।

मुन्द्रा र त्यही थैलीमा भएको पैसाका लागि हत्या भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । भक्तपुर प्रहरीका प्रमुख एसपी बुढाथोकी पनि लुटपाटको उद्देश्यले विष्णुकुमारीको हत्या भएको हुनसक्ने आशंकातर्फ अनुसन्धान भइरहेको बताउँछन् ।

यद्यपि विष्णुकुमारीको व्यवहार एकदमै रुखो भएकाले हत्या पछाडि अरु कारण पनि हुनसक्ने छिमेकीहरु बताउँछन् ।

‘घर लामो समयदेखि वहालमा लगाउँदै आउनुभएको थियो, तर भाडा तिर्न एक दिन पनि ढिला हुँदा झगडा भइहाल्थ्यो’ एक छिमेकीले भने, ‘कत्ति पटक प्रहरी नै समेत बोलाउनु परेको छ ।’ भक्तपुर प्रहरीका एक अधिकृत पनि इच्छुगल्लीबाट फोन आएको भन्ने वित्तिकै पछिल्लो समय प्रहरी केही नसोधी सीधै त्यही घरमा पुग्ने गरेको बताउँछन् । ‘त्यहाँ प्रायः विवाद चाहिं भइरहन्थ्यो’ ती अधिकृतले भने, ‘उहाँले गाली गरिहाल्नु हुँदोरहेछ, धेरै भएपछि बस्ने मान्छेले प्रहरीलाई खबर गरिहाल्ने रहेछन् ।’

प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको छ । यद्यपि, केही साताअघि घरबाट चरेसका केही थाल समेत हराएको पाइएकाले लुटपाटको शंका बलियो रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

पारिवारिक स्रोतका अनुसार, घरबाट उनले मासिक ६ हजार ५०० रुपैयाँ भाडा उठाउँथिन् । हरेक त्रैमासिकमा ४ हजारका दरले १२ हजार रुपैयाँ वृद्ध भत्ता पाउँथिन् । केही तल रहेको अर्को घरबाट २० हजार भाडा आउँथ्यो । यस्तोमा उनीसँग पैसा हुनसक्ने भएकाले समेत लुटपाटमा परेको हुनसक्ने आशंका अधिकृतहरुको छ ।

‘पुरानो घर र आसपास नयाँ मान्छे आएको नदेखिएकाले पनि चिनजानकै व्यक्तिको संलग्नता हुनसक्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘साढे ९ बजेतिर भाडामा बस्ने एक व्यक्तिले तल ढोकामा गजबार लगाएका थिए । त्योभन्दा पहिल्यै विष्णुकुमारीको चौथो तलामा हत्या भइसकेको थियो कि भन्ने शंका हो ।’

विष्णुकुमारीको कोठाबाट माथिल्लो तलामा भान्छा थियो । उनी सुत्ने स्थानसँगै स्टोर गर्ने कोठा समेत भएकाले घटनामा संलग्न पहिल्यै आएर कुरेर बसेको समेत हुनसक्ने अधिकृतहरुको अनुमान छ । ‘उहाँ आएलगत्तै घटना भएजस्तो देखिएकाले पनि संलग्न व्यक्ति पहिल्यै त्यहाँ गएर कुरिरहेको हुनसक्ने अनुमान हो’, एक प्रहरी अधिकृत भन्छन् ।

भक्तपुर प्रहरी प्रमुख एसपी बुढाथोकी प्रहरीले सम्भावित विभिन्न कारणलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको बताउँछन् । भन्छन्, ‘यथाशीघ्र नतिजा दिने गरी काम गरिरहेका छौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?