+
+

पुटिनलाई दुई वर्षपछि जर्मन चान्सलरको फोन, भने : युक्रेनसँग वार्ता गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते २२:२६

३० कात्तिक, बर्लिन । करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गरेका छन् ।

‘स्कोल्जले युक्रेनविरुद्धको रुसको आक्रमणको निन्दा गर्नुभयो र राष्ट्रपति पुटिनलाई यसलाई अन्त्य गर्न तथा सेना फिर्ता लिन आह्वान गर्नुभयो’, चान्सलरका प्रवक्ता स्टेफेन हेबेस्ट्रिटले विज्ञप्तिमा भनेका छन्, ‘जर्मन नेताले “न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्ने उद्देश्यले युक्रेनसँग वार्ता गर्ने इच्छा देखाउन रूसलाई आग्रह गर्नुभयो ।’

चान्सलर स्कोल्जले रुसी आक्रामकता विरुद्धको लडाइँमा युक्रेनलाई आवश्यक हुँदासम्म समर्थन गर्ने जर्मनीको अटल दृढतालाई पनि जोड दिएको उनले बताए ।

युद्धको महत्त्वपूर्ण मोडमा यो आह्वान आएको छ । युक्रेनी सेनाहरू दबाबमा आइरहेका छन् र संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा विजयले किएभलाई वासिङ्टनको निरन्तर समर्थनमा शङ्का उत्पन्न गरेको छ ।

स्कोल्ज र पुटिनबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको र कुराकानी एक घन्टासम्म चलेको जर्मन सरकर स्रोतले बताएको छ ।

‘स्कोल्जले विशेष गरी युक्रेनमा नागरिक पूर्वाधारमाथि रुसी हवाई हमलाको निन्दा गर्नुभयो’, सरकारी स्रोतले भन्यो, ‘उहाँले युक्रेनविरुद्ध लडाइँका लागि उत्तर कोरियाली सैनिकहरू रुसमा पठाउँदा द्वन्द्व गम्भीर रूपमा बढ्ने र विस्तार हुने कुरा स्पष्ट पार्नुभयो ।’

क्रेमलिनले कुराकानीको आफ्नो रिडआउटमा दुई नेताहरूले ‘स्पष्ट विचार आदानप्रदान’ गरेको र यो आह्वान जर्मनीले सुरु गरेको बताएको छ ।

‘सम्भावित सम्झौताहरूले रूसी सङ्घको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्दछ, नयाँ क्षेत्रीय वास्तविकताहरूबाट अगाडि बढ्नुपर्दछ र सबैभन्दा महत्त्वपूर्ण रूपमा द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्दछ’, क्रेमलिनले भनेको छ ।

पुटिनसँगको फोन कुराकानी गर्नुअघि स्कोल्जले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुराकानी गरेको प्रवक्ता हेबेस्ट्रिटले बताए । ‘जर्मन र युक्रेनी नेताले पहिले नै कुरा गर्नुभएको थियो र रुसी राष्ट्रपतिसँगको कुराकानीपछि फेरि गर्नुहुनेछ’, प्रवक्ताले भने । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?