+

तोकिएको मितिमा सुरु भएन दशौँ राष्ट्रिय खेलकुद

२०८१ मंसिर  २ गते १०:०८ २०८१ मंसिर २ गते १०:०८
तोकिएको मितिमा सुरु भएन दशौँ राष्ट्रिय खेलकुद

२ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २ (आजदेखि) देखि हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ । तोकिएको मिति आजै सकिँदैछ । तर दशौँको सुरु हुने कुनै छनक नै छैन ।

सबै कुरा ठिकठाक चलेको भए सुर्खेतमा खेलाडीहरुको बाक्लो जमघट हुने थियो । कर्णाली प्रदेश खेलकुदमय हुने थियो । दशौँ राष्ट्रिय खेलकुदको माहोलले सुर्खेतमा खेलकुदको चहलपहल धेरै हुने थियो ।

तर अहिले कर्णाली र सुर्खेत दशौँ राष्ट्रिय खेलकुद कहिले होला भन्ने अन्यौलमा पुगेको हो ।

कर्णाली प्रदेश खेलकुद परिषदले दशौँ राष्ट्रिय खेलकुदका लागि १०० दिने काउन्टडाउन नै सुरु गरेको थियो । तर त्यो समयसीमा आज सकिँदा सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद पनि सुरु हुन सकेन ।

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुरु नहुने त यसअघि नै पक्का थियो । तर के र कति कारणले हुन नसक्ने भन्ने विषयमा आयोजक राष्ट्रिय खेलकुद परिषद र नेपाल सरकारले पनि केही निर्णय गर्न सकेको छैन ।

तेजुलाल चौधरी नयाँ खेलकुद मन्त्री बनेर आएपछि नै दशौँ राष्ट्रिय खेलकुद सर्ने चर्चा चलेको थियो । उनले एकपटक त दशौँ मंसिरमा नहुने र फागुनमा हुन्छ भनेर सार्वजनिक रुपमै भनेका थिए । तर आधिकारिक रुपमा भने दशौँ मंसिर २ बाट किन हुन सक्दैन जानकारी आएको छैन । यस्तै दशौँको नयाँ मिति पनि तोकिएको छैन ।

पछिल्लो समयमा मन्त्री तेजुलाल चौधरी र राखेप सदस्य सचिव टंकलाल घिसिङको सम्बन्ध राम्रो नभएपछि दशौँ राष्ट्रिय आयोजनामा समेत असर देखियो । यसको मारमा भने नेपाली खेलकुद खेलाडी र खेलकर्मीहरु परेका छन् । दशौँ राष्ट्रिय खेलकुदको कार्यिविधि समेत बन्न सकेको थिएन ।

खेलाडीहरुले दशौँका लागि तयारी थालेपनि आफूले कहिले खेल्न पाउँछु भन्ने थाहा नभएपछि अन्यौलमा रहे । अब ती तयारीमा रहेका खेलाडीहरुको अवस्था कस्तो हुन्छ भन्ने जवाफ कसैले दिन सकेका छैनन् ।

दशौँमा ३६ खेल समावेश गर्ने र २४ खेल कर्णाली प्रदेशको आयोजना गर्न सकिने कर्णाली प्रदेश खेलकुद परिषदले जनाएको थियो ।

अबको प्रश्न दशौँ राष्ट्रिय खेलकुद किन तोकिएको समयमा हुन सकेन र नयाँ मिति कहिले घोषणा हुन्छ भन्ने हो ।

युवा तथा खेलकुद मन्त्री तेजुताल चौधरीले राखेपको खाली पदकमा सदस्यहरु गठन हुन नसकेकोले मिति तय गर्न नसकिएको बताए । साथै उनले अब एक सातामै राखेपको सदस्य नियुक्त गरेर दशौँको मिति तय गर्ने बताए  ।

‘यो हप्तामा सदस्य नियुक्त गरेर बोर्ड बैठक बस्नेत तयारी छ । त्यसपछि हामी दशौँको मिति तय गर्नेछौँ’ राखेपको अध्यक्ष समेत रहकेा मन्त्री चौधरीले अनलाइनखबरसँग छोटो कुरा गर्दै भने, ‘अब दशौँको नयाँ मिति फागुनमा तोक्ने गरी तयारी भइरहेको छ।’

दशौँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय