
काठमाडौं । तीन महिना लामो अमेरिकाको सांगीतिक टुर गरी गायक यम बराल स्वदेश फर्किएका छन् । शनिबार नेपाल फर्किएका यमले अमेरिकाका विभिन्न सहरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिए ।
उनले अमेरिकाका न्युयोर्क, ओहायो राज्यको एक्रोन, सिन्सीनियाटी, न्यु ह्याम्सायरको नासुवा, विस्कन्सिनको, अलाबामाको नेब्रास्का, रेन्टन, वासिङ्टनको सियाटल लगायत सहरमा आयोजित कन्सर्ट आफ्ना लोकप्रिय गीतहरु सुनाएर नेपाली डायस्पोरालाई मन्त्रमुग्ध बनाए ।
अमेरिकाका विभिन्न सहरमा आयोजित ‘दशैं तिहार धमाका’मा समेत यम गुञ्जिए । कार्यक्रम नेपाली तथा भुटानी समुदायका विभिन्न संघसंस्थाले आयोजना गरेका थिए ।
‘ठूला चाडहरु दशैं-तिहारको समयमा पनि भएकाले यसपटकको मेरो अमेरिका सांगीतिक यात्रा विशेष रह्यो । मेरा गीतहरुमा नेपाली समुदाय मज्जाले झुम्नुभयो, नाच्नुभयो’, यमले काठमाडौं फर्किएपछि भने, ‘अमेरिकाका विभिन्न राज्यहरुमा मेरो सांगीतिक यात्रामा साथ दिनुहुने नेपाली तथा नेपाली भुटानी संघसंस्था, व्यक्तित्व र सम्पूर्ण आत्मीय मनहरुमा अन्तरमनदेखि आभार प्रकट गर्दछु ।’
यम अमेरिकामै रहँदा उनकी ठूलीआमाको निधन भएको थियो । ‘दशैंकै बेला हाम्रो परिवारमा शोक पनि पर्यो । इलाममा मेरो ठूलीआमाको निधन भयो । म आउन पाइनँ । १३ दिनसम्मको काम उतै गरें’, यमले भने, ‘त्यसबेला यहाँहरु सबैले दिनुभएको सहानुभूतिप्रति आभार व्यक्त गर्दछु ।’
तीन महिनाअघि ‘बाख्रा करायो’ गीत सार्वजनिक गरेका यम नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय हुन् । सांगीतिक कन्सर्टमा उनी बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, सनम माया लाको, बाख्रा करायो जस्ता लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउँछन् ।
प्रतिक्रिया 4