२ मंसिर, काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको हो ।
नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको यू-१९ टोली १६१ रनमा अलआउट भएको हो । उसका लागि गगन राओले सर्वाधिक ४६ रन बनाए भने प्रथीकले २३ रन बनाए ।
नेपालका लागि नरेन साउदले ४ विकेट लिँदा युवराज खत्रीले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली यू-१९ टोलीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनायो । नेपालका लागि रोशन बिकेले ५७ बलमा सर्वाधिक ८१ रनको इनिङ खेले । त्यस्तै मयन यादवले ५८ रन बनाए ।
कर्नाटकका ध्रुव वासु र लोहिथ एसले दुई-दुई विकेट लिए ।
पाँचवटा अभ्यास खेलको श्रृंखला अन्तर्गत चौथो खेल नोभेम्बर १९ मा र पाँचौ तथा अन्तिम खेल नोभेम्बर २१ मा हुनेछ ।
आउँदै गरेको एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेल्न लागेको हो । एसीसी यू–१९ एसिया कप यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुँदै छ ।
त्यसका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
प्रतिक्रिया 4