+
+

डेडिकेटेड विवाद : टीओडीका आधारमा बक्यौता गणना गर्न प्राविधिक समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १२:५९

३ मंसिर, काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न प्राविधिक समिति गठन गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा. डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव सुरेश आचार्यले जानकारी दिए ।

डेडिकेटेड र ट्र‌कलाइन विद्युत महसुल बक्यौता सम्बन्धी आवश्यक सत्यतथ्य विवरण/प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेश समितिलाई दिइएको छ ।

‘समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरका आधारमा पुनः गणना गरी जाँच गर्ने छ,’ उनले भने, ‘पुरानो बिल मिलेको रहेनछ भने त्यसलाई सच्याउने अधिकार पनि आयोगलाई दिइएको छ ।’

समितिमा नेपाल विद्युत् प्राधिकरणका पूर्व निर्देशक श्रीरामराज पाण्डे र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्लेसमेत रहेका छन् । समितिको कामलाई सहजीकरण गर्न उर्जा मन्त्रालयका एसडीई कल्पमोहन सोनी र विद्युत् नियमन आयोगका एसडीई नुतनप्रकाश शर्मालाई सम्पर्क व्यक्ति तोकिएको उर्जा स्रोतले जनायो ।

समितिले यो मामलाको अध्ययन र प्रमाणीकरण गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने पनि जनाइएको छ । ‘त्यसपछि मन्त्रालयले आवश्यकताका आधारमा प्रतिवेदन कार्यान्वयनका लागि विद्युत नियमन आयोगमा पठाउने वा मन्त्रिपरिषद्मा पेश गर्नेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रिपरिषद्को अघिल्लो आइतबार बसेको बैठकले टीओडी मिटरसहित तत्काल प्रचलित कानून बमोजिम डेडेकेटेड र ट्रंक लाइनको विद्युत् महसुल गणना गरी १५ दिनभित्र बक्यौता अशुली गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय हुबहु कार्यान्वयन गर्ने निर्णय प्राधिकरणको सञ्चालक समितले गरेको थियो । तर, विद्युत प्राधिकरणले पुरानै बिलअनुसार बक्यौता भुक्तानी गर्न उद्योगीहरुलाई पत्राचार गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुरानै बिल सही भएकाले त्यही अनुसार १५ दिनभित्र भुक्तानी गर्नुपर्ने, नगरे फेरि लाइन काट्ने चेतावनी दिएको थियो ।

त्यसपछि यो मामलामा मन्त्रालयले हस्तक्षेप गरी टीओडी मिटरसमेतका आधारमा बक्यौताको प्रमाण संकलन तथा प्रमाणीकरणको काम दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?