
३ मंसिर, काठमाडौं । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौती सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
नेपालले अन्तर्राष्ट्रिय स्तरमा पाइरहेको सुविधा कटौती हुने भएकाले प्रतिस्पर्धी बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उनीहरूले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको एफएनसीसीआई इनोभेसन डायलगमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले साना, मझौला र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।
लामो समयदेखि आन्तरिक माग घटेकाले धेरै साना र मझौला उद्यम समस्यामा रहेको बताउँदै अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय स्तरमा बढ्ने चुनौती सामना गर्न नवप्रवर्तनमा लगानी बढाउनुपर्ने बताए ।
नेपाल सन २०२६ नोभेम्बरदेखि अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ । त्यसपछि युरोपेली युनियन लगायत विभिन्न विकसित देशहरूमा पाइरहेको भन्साररहित सुविधा गुम्नेछ ।
ढकालले नेपाली उत्पादन बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सामना गरिरहेको बताउँदै उच्च गुणस्तरका सामान उत्पादन गरी बजारको माग पूरा गर्न व्यवसायीले ध्यान दिनुपर्ने उल्लेख गरे ।
घरेलु आर्थिक गतिविधि बढाउन, कर प्रणालीलाई सरल, व्यवसायमैत्री र पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ ।
दर्ता र नवीकरण एकै ठाउँबाट गर्न पाउने व्यवस्था लगायतको सुधार आवश्यक रहेकोमा उनको जोड छ ।
राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा पछि तल झर्न नपर्ने गरी तयारी गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4