
४ मंसिर, काठमाडौं । नेपालका प्रमुख वाणिज्य बैंकमध्ये एक नबिल आठौं पटक सबैभन्दा धेरै कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । १ मंसिरको १३औं राष्ट्रिय कर दिवसमा आन्तरिक राजस्व कार्यालयले नबिललाई उक्त सम्मान गरेको हो ।
नेपाल अरब बैंक इन्टरनेसनल लिमिटेड (नबिल) का नाममा असार २०४१ मा संयुक्त लगानी (विदेशी लगानी) मा स्थापित नबिल निजी क्षेत्रको पहिलो बैंक हो । त्यसयता २०८०/८१ सम्मको ४० वर्षमा नबिलले २५ अर्ब ३५ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबर आयकर तिरेको छ ।
पछिल्लो १३ वर्षमा राष्ट्रिय कर दिवसमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रतर्फको सम्मान नबिलले ८औं पटक पाएको हो ।
नबिल आक्रामक व्यवसाय विस्तार, डिजिटाइजेनसमा अब्बल र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंक मानिन्छ । संयुक्त लगानीमा स्थापित बैंकमा पछि नेपालको व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) प्रवेश गरेको थियो ।
आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ८० करोड ३० लाख ८३ हजार आयकर तिर्दा नबिल सबैभन्दा धेरै आयकर तिर्ने बैंक बनेको थियोे ।
त्यस्तै २०८०/८१ मा पनि २ अर्ब ७४ करोड ३५ लाख ९७ हजार आयकर तिरेको छ । गत वर्ष तिरेको आयकरका आधारमा धेरै कर तिर्ने करदाता आगामी वर्ष हुने कर दिवसमा दिनमा सम्मानित हुन्छ ।
नबिल २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनको थियो ।
नबिललाई २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सरकारले यो वर्ष प्रमाणपत्र सहित सम्मान गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले नबिललाई सम्मानपत्र प्रदान गरेका थिए ।
सरकारले २०६७/६८ मा तिरेको करका आधारमा २०६९ बाट क्षेत्रगत रूपमा धेरै कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ । त्यसयता १३ वर्षमा ८ पटक नबिल आफ्नो क्षेत्रमा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । यस आधारमा नबिल बैंक तथा वित्तीय संस्थामध्ये अहिलेम्म धेरै कर तिर्ने बैंक पनि हो ।
२०७२/७३ यता नबिलले हरेक वर्ष अर्बमाथि आयकर तिरेको छ । २०७२/७३ यता नौ वर्षमा मात्रै उसले १७ अर्ब ५२ करोड ५९ लाख आयकर भुक्तानी गरेको छ ।
नेपालमा आधुनिक बैकिङ सिकाउने बैंक नबिल हो । नबिल स्थापना हुँदा तीनवटा सरकारी बैंकमात्र थिए । सुरुमा नबिल अरब बैंकका नाममा स्थापना भएको र विदेशी लगानीसँग सहकार्य भएकाले विदेशका अनुभवी र दक्ष व्यक्ति काम गर्थे । उनीहरूकै विज्ञता हेरेर नेपालको बैंकिङ क्षेत्रलाई नयाँ ढाँचा दिन नबिलको ठूलो योगदान छ ।
नबिलले त्यस समयदेखि नै डेटा कम्प्युटर प्रणालीबाट ‘इन्ट्री’ गर्थ्यो । सोही कारण नबिललाई आधुनिक बैंकिङ सिकाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बैंकको पहिचान छ ।
पहिलो ‘ज्वाइन्ट भेन्चर’ र ‘कम्प्युटराइज्ड’ बैंकका रूपमा स्थापित नबिल डिजिटलाइजेसनमा उदाहरण बनेर अगाडि बढ्यो । उसले एनएबीएसवाईएस बैंकिङ सफ्टवेयरमा आधारित सेवा सुरु, मास्टरकार्ड म्यानुअल इम्प्रिन्टर (जिप–ज्याप) मेसिन सुरु, मास्टर कार्ड, क्रेडिड कार्ड सुरुवात, भिसा कार्ड सुरुवात, एमटीएम प्रयोगमा ल्याउन जस्ता बैंकिङ सेवामा सधैं अग्रणी हिसाबमा अगाडि बढ्यो ।
त्यस्तै नबिलले पीओएस मेसिन र भिसा क्रेडिट कार्ड जारी गर्न होस् वा स्विफ्ट सेवा सुरु गर्न, यिनमा पनि अग्रणी भूमिका खेल्यो ।
नबिल कर तिर्नेमा मात्र नभई लगानीकर्तालाई प्रतिफल दिनेमा समेत सधैं अग्रणी रहँदै आएको छ । चुक्ता पूँजी २७ अर्बभन्दा बढी रहेको नबिलले युनाइटेड फाइनान्स र एनबी बैंकलाई प्राप्ति गरेको थियो । नबिलमा लगानी गर्नेले राम्रो प्रतिफल पाएका छन् । बैंकले सेयरधनीलाई शतप्रतिशतसम्म लाभांश बाँडेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज ज्ञवाली कर तिर्नेमा मात्र नभई सेयरधनीलाई लाभांश दिन र कर्मचारीले पाउने सेवासुविधा प्याकेजमा समेत पहिलो स्थानमा रहेको बताउँछन् ।
सबै क्षेत्रलाई सन्तुष्ट बनाउँदा पनि धेरै कर तिर्ने बैंकका रूपमा स्थापित हुन सकेको उनको भनाइ छ । ‘करको नाफासँग प्रत्यक्ष सम्बन्ध हुन्छ । मुनाफा धेरै कमाउनेले धेरै कर तिर्ने हो,’ ज्ञवाली भन्छन्, ‘नबिल स्थापनादेखि अहिलेसम्म हेर्दा सेयरधनीलाई दिने लाभांशमा पनि नबिल एक नम्बर छ । कर्मचारीलाई पनि राम्रो सेवासुविधा दिने बैंक नबिल हो ।’
पछिल्लो पटक मर्जरका कारण लाभांश केही संकुचित भए पनि बजारमा प्रतिस्पर्धी भएको उनले बताए । बैंक सुरुवातबाट नै बनेको कर्पोरेट ब्रान्डिङले राम्रो ग्राहक छनोट गरेर व्यावसायिक पोर्टफोलियो बढाउँदै जाँदा त्यसले राम्रो मुनाफा आर्जन गर्न सफल भएको उनले बताए ।
नबिल अन्य बैंकभन्दा केही पछि परे पनि एनबी बैंक र युनाइटेड फाइनान्स एक्विजसिन मार्फत पोर्टफोलियो ठूलो बनाएर धेरै कर तिर्ने बैंक बन्न सफल भएको डेपुटी सीईओ ज्ञवालीले बताए ।
चालु आव प्रथम त्रैमाससम्मको वित्तीय विवरणले पनि दोस्रो धेरै नाफा कमाउने बैंकभन्दा नबिल ५० करोड धेरै नाफा सहित पहिलो नम्बरमा रहेको उनले बताए ।
‘ब्रान्ड भ्यालु, ग्राहक, लागत प्रभावकारिता जस्ता कारण बैंकको नाफा बढ्यो,’ उनले भने, ‘नाफा बढेपछि सरकारलाई तिर्ने कर पनि बढी भयो ।’
सरकारले धेरै कर तिर्ने बैंकका रूपमा सम्मान गर्दा त्यसले बैंकको ब्रान्डिङमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4