+
+

लेनदेन विवादमा परेका एसपीलाई छानबिन नसकिँदै जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १६:२३

४ मंसिर, काठमाडौं । आर्थिक अनियमितताको आरोपमा छानबिनमा परेका एसपी नवराज कार्कीलाई अर्को जिम्मेवारी दिइएको छ ।

आर्थिक अनियमितताको आरोप लागेपछि २ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखबाट हटाएर उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा तानिएका थिए ।

उनलाई अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पठाइएको प्रधान कार्यालय स्रोतले जनाएको छ । अनलाइन जुवा खेलाउने र अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने व्यक्तिलाई मुद्दा नचलाउने आश्वासन दिएर २२ लाख रुपैयाँ लिएको आरोप एसपी कार्कीमाथि थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम दाहालको संयोजकत्वमा छानबिन समिति बनाएर एसपी कार्कीमाथि सुरु गरेको अनुसन्धान अझै सकेको छैन ।

समितिका एक सदस्यका अनुसार एसपी कार्कीसँग समितिले बयान लिइसकेको छ । ‘आफूबाट केही कमजोरी भएको उहाँले स्वीकारिसक्नुभएको छ । तर यहीबीचमा छानबिन नसकिँदै जिम्मेवारी दिएर पठाइसकेपछि छानबिनको औचित्य के भन्ने प्रश्न उठेको छ,’ एक अधिकृतले भने ।

छानबिनका क्रममा एसपी कार्कीले रकम बुझ्न जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) बिक्रमबहादुर भट्टराईलाई पठाएको पाइएको समितिका एक सदस्यले बताए ।

समितिले इन्सपेक्टर भट्टराईसँग समेत बयान लिएको थियो । भट्टराईले रकम लिएर एसपी कार्कीलाई बुझाएको स्वीकार गरेको समिति स्रोत बताउँछ ।

समितिले हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ, इलाका प्रहरी कार्यालय बेलबारीका हवल्दार खगेन्द्र राउतसँग समेत बयान लिएको थियो ।

रकम लिएको सूचना चुहिएपछि एसपी कार्कीले उक्त रकम फिर्ता गरेको समेत पाइएको थियो । यो घटनामा एक बिचौलियालाई समेत नियन्त्रणमा लिएर समितिले सोधपुछ गरेको थियो ।

कोशी प्रदेशका प्रमुख तथा डीआईजी चन्द्रकुवेर खापुङले भने छानबिन अहिले पनि चलिरहेकाले यो विषयमा अहिले केही बोल्न नमिल्ने बताउँछन् ।

‘छानबिन अन्तिम चरणमा पुगेको भन्ने जानकारी आएको छ । छानबिनकै क्रममा रहेकाले अहिले केही बोल्न सक्ने अवस्था छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?