+
+

यौन शोषणको उजुरी दिने महिलाविरुद्ध कृष्णमान प्रधानको गाली बेइज्जती मुद्दा

‘मिलापत्र भइसकेको विषयमा उजुरी दिँदा मेरो चरित्रहत्या भयो’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १७:५३

४ मंसिर, काठमाडौं । निर्वाचन आयुक्तमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत कृष्णमान प्रधानले आफूविरुद्ध यौनशोषणको उजुरी दिने महिलाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

आफू र उजुरीकर्ताबीच कतै उजुरबाजुर नगर्ने भनी मिलापत्र भइसकेको अवस्थामा संसदीय सुुनुवाइ समितिमा उजुरी दिएर आफ्नो इज्जत र प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै प्रधानले उजुरीकर्ता विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक रहेका प्रधानलाई १९ असार २०८१ को संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।

तर उनको संसदीय सुनुवाइका क्रममा उनकै कार्यालयमा कार्यरत एक महिलाले आफूमाथि कृष्णमानले यौनशोषण गरेको र मिलापत्रमार्फत मुद्दा फिर्ता भएको भनी उनको ‘उच्च नैतिक चरित्र’ मा प्रश्न उठाएकी थिइन् ।

सुनुवाइ समितिले नाम अनुमोदन नगर्ने अनौपचारिक सन्देश दिएपछि कृष्णमानले निर्णय हुनुभन्दा केही घण्टाअघि निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएका थिए ।

पछि संसदीय सुनुवाइ समितिले आफैं नाम फिर्ता लिएको भन्दै उनको नाम अस्वीकृत गरेको थियो । नाम अस्वीकृत भएको दुई महिनापछि असोज दोस्रो साता प्रधान उजुरीकर्ताविरुद्ध मुद्दा लिएर अदालत गएका हुन् ।

यौन शोषणको मुद्दा हालेपछि आफूविरुद्ध कुनै दुव्र्यवहार भएको छैन भन्दै उजुरीकर्ताले नै जिल्ला अदालत काठमाडौंमा चलेको मुद्दा फिर्ता लिएको र त्यसले आफ्नो निर्दोषिता पुष्टि गरेको प्रधानको जिकिर छ ।

मुद्दा फिर्ता लिएको तथ्यलाई अनदेखा गरी पछि समितिमा उजुरी दिएर आफूविरुद्ध दुष्प्रचार भएको र त्यस्तो काम गाली बेइज्जती हुने प्रधानको दाबी छ ।

आफूले उम्मेदवारी कायम राख्न नचाहेको अवस्थामा संसदीय सुनुवाइ समितिले नाम अस्वीकृत गर्ने निर्णय गरेकामा पनि प्रधानले प्रश्न उठाएका छन् । जिल्ला अदालत काठमाडौंमा दायर फिरादपत्रमा भनेका छन्, ‘यस त्रुटिपूर्ण निर्णय सच्याउन संसदीय सुनुवाइ समिति समक्ष छुट्टै निवेदन दिने छु ।’

आफूलाई चिन्ने व्यक्ति, समाजले हेर्ने दृष्टिकोणमा नकारात्मक बदलाब आएको भन्दै उनले उजुरीकर्ताकै कारण आफूले बदनियतपूर्ण बेइज्जती भोग्नुपरेको दाबी गरेका छन् ।

फिरादपत्रमा उनले लेखेका छन्, ‘म उपर विपक्षीले झुट्टा तथा अनर्गल आरोप लगाई उजुर गरी मेरो गाली बेइज्जती गर्नुभएको स्पष्ट छ ।’

उनले आफूमाथिको गालीबेइज्जतीको क्षतिपूर्ति स्वरुप उजुरीकर्ताबाट १० करोड रुपैयाँ क्षतिपूर्ति र मुद्दामामिला गर्दा लागेको ५ लाख रुपैयाँको खर्च भराउन समेत माग गरेका छन् ।

आफू र भाइ गणेशमान प्रधानले उजुरीकर्तालाई एक करोड २५ लाख रुपैयाँ सापटी दिएको भन्दै उनले त्यो फिर्ता गराउने काननुनी हक बाकी रहेको पनि निवेदनमा लेखेका छन् ।

उनले जिल्ला अदालतमा फिरादपत्रका साथमा यसअघि नै मिलापत्रबाट टुंगिएका दुई मुद्दा पेश गरेका छन् । सूचनाको हक प्रयोग गरेर माग्दासमेत संसदीय सुनुवाइ समितिबाट उजुरीपत्रको प्रतिलिपी नपाएको भन्दै प्रधानले अदालतबाटै ती कागजात झिकाउन माग गरेका थिए ।

उजुरीकर्ताले के दिइन् जवाफ ?

असोजको दोस्रो साता दायर भएको मुद्दामा विपक्षी बनाइएकी उजुरीकर्ताले मुद्दाको म्याद बुझेर अदालतमा लिखित प्रतिवाद समेत गरिसकेकी छन् ।

उजुरीकर्ताले आफूले संसदीय सुनुवाइ विशेष समितिमा पेश गरेको उजुरी गलत प्रमाणित गर्न प्रधान चुकेको दाबी गरेकी छन् । उनले प्रतिउत्तरमा भनेकी छन्, ‘मेरा उजुरी झुटा हुन् भने प्रधानले आफ्नो प्रमाणसहित खण्डन गरी त्यसलाई झुट्टा सावित गरेको भए हुने थियो ।’

आफूविरुद्ध कृष्णमान प्रधानले यसअघि समेत गाली बेइज्जतीको मुद्दा हालेको र फिर्ता लिइसकेको त्यो मुद्दा दोहोर्‍याउन नमिल्ने भन्दै उनले ‘एउटै विषयमा दुईपटक मुद्दा चलाउन नमिल्ने कानूनको सिद्धान्तको उल्लंघन भएको’ जिकिर गरेकी छन् ।

संविधानको धारा १०३ मा संसदीय काम कारबाहीका विषयमा कतै उजुरबाजुर गर्न नपाउने गरी सांसदहरुलाई विशेष संरक्षणको व्यवस्था छ ।

संसदीय कारबाहीका सिलसिलामा त्यहाँ पुग्ने अरु व्यक्तिलाई पनि त्यही खालको संरक्षण हुने भन्दै उनले संसदीय सुनुवाइ समितिमा दिएको उजुरीका आधारमा गाली बेइज्जतीको आरोप आकर्षित हुन नसक्ने जिकिर गरेकी छन् ।

‘संसदमा दिएका उजुरी, निवेदन, प्रस्ताव तथा त्यसका बिषयमा गरेका छलफलका बिषयवारे अदालतमा मुद्दा दर्ता गर्न मिल्दैन’ उनले अदालतमा पेश गरेको लिखित प्रतिवादमा भनेकी छन्, ‘संसदीय सुनुवाइ समितिमा दिएको उजुरीका बिषयमा यस अदालत तथा कुनै पनि अदालतमा मुद्दा दर्ता गर्न पाउने नै होइन ।’

कृष्णमान प्रधानमा उच्च नैतिकता नरहेको र त्यसैले उनी पदका लागि अयोग्य छन् भनेर आफूले उजुरी गरेको भन्दै उजुरीकर्ताले एक सर्वसाधारण नेपाली नागरिकका हैसियतले आफूलाई त्यो हक रहेको जिकिर गरेकी छन् ।

‘यौन शोषणका सम्बन्धमा सजाय नगराउँदैमा यौन दुर्वयवहार मुद्दामा मिलापत्र गर्दैमा मलाई अन्याय भएको कुरा प्रकट गर्न नपाउने भन्ने होइन’ उनले जवाफमा भनेकी छन्, ‘मैले सार्वभौम सांसदहरुको समितिमा गोप्य रुपमा उजुरी गरेको मात्र हो । उम्मेदवारी फिर्ता लिएकाले विपक्षी(कृष्णमान) उक्त पदका लागि अयोग्य रहेको र मैले दिएको उजुरी सत्य नै रहेको कुरा पुष्टि गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?