
४ मंसिर,काठमाडौं । टोखा नगरपालिकाले नयाँ बसर्पाक क्षेत्रको विष्णुमती करिडोरमा डोजर चलाएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा नगरपालिकाले करिडोर क्षेत्रमा सार्वजनिक जग्गा हडपेर बसेको टहरा हटाएको हो ।
टोखा नगरपालिका–९ वडा क्षेत्रमा पर्ने विष्णुमती करिडोरमा अवैध रूपमा सञ्चालन भएका ८२ टहरा हटाइएको हो ।
वडाध्यक्ष रामभक्त घिमिरेका अनुसार बागमती सभ्यता एकीकृत विकास समितिले बसपार्क छेउमा पार्क, सार्वजनिक शौचालय बनाउने भन्दै स्थान खाली गर्न पत्र पठाएपछि मंगलबार डोजर चलाएको हो ।
‘उहाँहरूले बारम्बार हटाउन भनिरहनुभएको थियो, त्यही अनुसार आज डोजर चलाएका हौं । अब यहाँ उहाँहरूले नै यहाँ काम गर्नहुन्छ, हामीले खोला करिडोर खाली गर्न सहयोग गरेका मात्रै हौं,’ अनलाइनखबरसँग वडाध्यक्ष घिमिरेले भने ।
बागमती सभ्यताका निर्देशक उद्धव नेपालका अनुसार देशकै ठूलो बसपार्क छेउमै अवैध रुपमा अव्यवस्थित बसोबास रहेको भन्दै त्यहाँ सुन्दर पार्क, शौचालय लगायत बनाउने समितिको योजना छ ।
‘खोला करिडोरको अधिकार समितिसँग छ, त्यसैका लागि हामीले नगरपालिकालाई भनेका थियौं । आज हटाइएको छ, केही दिन पछि हामी त्यहाँ अनुगमन गरेर योजना अनुसार काम गर्ने ठेक्का प्रक्रिया अगाडि बढाउँछौं,’ नेपालले भने ।
उनका अनुसार बसपार्कमा आउने यात्रुका लागि पार्क र शौचालयको अभाव भएको भन्दै करिडोर सफा बनाएर त्यहाँ संरचना बनाउने योजना समितिको रहेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीका अनुसार करिडोरको नयाँ बसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म निर्माण गरिएका अस्थायी संरचना हटाएको हो ।
नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए ।
नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमती करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाएको थियो ।
प्रतिक्रिया 4