
काठमाडौं । पटकथा संग्रहालयको औपचारिक सुरुवात भएको छ । चलचित्र विकास बोर्डमा बुधबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संग्रहालयको सुरुवात गरे ।
सो अवसरमा ७ जना फिल्म निर्माता तथा लेखकले मन्त्री गुरुङलाई पटकथा हस्तान्तरण गरे । फिल्म ‘बोक्सीको घर’की निर्मात्री केकी अधिकारी, ‘अन्तराल’ निर्देशक दीपा बस्नेत, ‘नाङ्गो गाउँ’ निर्देशक दीपेन्द्र लामा, ‘दुई नम्बरी’ फिल्मका निर्माता किरण नेपाली, ‘चिसो मान्छे’ निर्देशक दीपेन्द्र के खनाल, ‘कबड्डी ४’का निर्माता रामबाबु गुरुङ र ‘छक्कापञ्जा ५’ निर्देशक दीपाश्री निरौलाले स्क्रिप्ट हस्तान्तरण गरे ।
मन्त्री गुरुङले ती स्क्रिप्टलाई बोर्ड अध्यक्ष दिनेश डीसीलाई प्रदान गरे । प्राप्त पटकथालाई डिजिटल अभिलेखको रुपमा तयार पारिने अध्यक्ष डीसीले बताए । समारोहमा ७२ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको थियो ।
समारोहमा बोल्दै मन्त्री गुरुङले एकवर्षभित्र चलचित्र ऐन लागू गर्ने सरकारको तयारी रहेको बताए । उनले ऐनको मस्यौदा लेखन कार्य सकिएको जनाउँदै संसद, कानून र प्रधानमन्त्रीको कार्यालयसँग यसबारे समन्वय गर्ने बताए ।
टीकटक बन्द गर्दा मुलुकलाई ३ अर्ब घाटा लागेको बताउँदै मन्त्री गुरुङले देशलाई आइटी हब बनाउन सरकार लागेको बताए । उनले नेपाली फिल्म बलिउडभन्दा अघि रहेको बताए । चलचित्र विकास बोर्ड अन्तर्गतको विधागत सुझाव दिन उनले फिल्मकर्मीलाई आग्रह गरे ।
अध्यक्ष डीसीले आफूलाई विदेशमा हुन लागेका ३ वटा कार्यक्रमबाट निम्तो आएको र आफू त्यता नजाने बताए । उनले २ वर्षको कामलाई ६ महिनामा सक्न लागेको बताए । रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र गोरखापत्रमा नेपाली फिल्मको निःशुल्क प्रचार कन्टेन्ट र कार्यक्रम प्रकाशन र प्रसारण हुन लागेको समेत बताए ।
चाँडै देशभरका फिल्म हलको अवलोकन गर्ने तयारी पनि उनले बताए । मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार आयोजना हुने समेत अध्यक्ष डीसीले जनाए । उनले ड्रोनको लाइसेन्स बोर्डबाट प्रदान गरिने एकद्वार नीति बनाउन लागिएको जनाए । आफू प्रिमियर र ट्रेलर रिलिज लगायतका फिल्म कार्यक्रममा सहभागि नहुने समेत उनले बताए ।
प्रतिक्रिया 4