
काठमाडौं । अभिनेता प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रमा ब्यस्त कलाकार हुन् । एकपछि अर्का हिट फिल्ममा ब्यस्त उनी दर्शकमाझ प्रिय पनि छन् । उनको आगामी फिल्म ‘अग्निदहन’ प्रदर्शन तयारीमा छ । यो फिल्ममा उनी चरित्र अभिनेताको रुपमा प्रस्तुत छन् ।
दशैंमा उनी अभिनित दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ एकसाथ प्रदर्शनमा आए । उनी यतिबेला आगामी सोसल ड्रामा ‘अग्निदहन’मा ब्यस्त छन् । यस सन्दर्भमा घिमिरेसँग गरिएको कुराकानीको संवाद :
‘अग्निदहन’मा कसरी जोडिनुभयो ?
‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुप¥यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें । पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो । सामाजिक विषयमा फिल्म बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ । म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन् ।
ट्रेलर हेर्दा तपाईं ‘बोक्सी हुँदैन’ भन्ने मान्यता राख्नुहुन्छ । खासमा तपाईंको रोल के छ ?
म ‘बोक्सी’ हुँदैन भन्ने मान्यता राख्छु । मानिसमा मानसिक रोग हुन्छ । त्यो रोगलाई चिन्न नसकेर ‘बोक्सी’ अथवा अरु नै नाम राखिन्छ । पहिला पहिला डाक्टर र धामीझाँक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन् । रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले ।
तपाईंको बुझाईमा समाजमा साँच्चै बोक्सी छन् त ?
हरेक कुरामा वैज्ञानिक कुरा जोडिएका हुन्छन् । पहिला महिलालाई मानसिक रोग हुँदा धामीझाँक्री र डाक्टरकहाँ लैजान्थे । ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए । अनि के भन्ने त भन्दा ‘बोक्सी’ शब्द प्रयोग गरे । खासमा महिलामा ‘बोक्सी’ समस्या होइन, उनीहरुमा मानसिक रोग देखिएको हो । धामीझाक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन् ।
महिलालाई बोक्सीको आरोप किन लगाइँदो रहेछ ?
बोक्सी भन्ने कुरा मान्छेले आफैंले खडा गरेको चिज हो । मान्छे भित्र सबै चिज छ, तर त्यसलाई उसको दिमागले चिन्न सकेन । को मान्छे कस्तो बिरामी छ भन्ने कुरा दिमागले बुझ्न नसकेपछि ‘बोक्सी’लगायतका आरोप लगाइन्छ । मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरुलाई अनेक यातना दिइने गरिन्छ । त्यो गलत हो । रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो ।
प्रतिक्रिया 4