+
+

प्रिमियरमा सेलिब्रेटीले हेरे ‘अग्निदहन’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १२:३१

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’को काठमाडौंमा प्रिमियर गरिएको छ । समारोहमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

निर्देशक तथा संगीतकार नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सीप्रथा कायमै रहेकाले यस्ता फिल्म अझै धेरै बन्नुपर्ने बताए ।

राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराइमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।

कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए । उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै प्रशंसा गरे ।

निर्देशक तथा कलाकार नरेश पौड्यालले फिल्मले समाजमा व्याप्त भयावह कुरीतिलाई भयानक प्रहार गरेको बताए । कलाकार लोकेन्द्र लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथाविरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए । कलाकार तेज गिरीले अर्काको लासमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लासमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै प्रशंसा गरे ।

परिकल्पनाकार कोविदशरण उपाध्यायले चाँडै नै भारतसँग सीमा जोडिएका तराईका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।

उपाध्यायले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको भन्दै सर्वसाधारणलाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए । उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमूत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे ।

घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

 

फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?